काठमाडौं। शनिबार संसदमा भएको उपराष्ट्रपति चुनावमा एकीकृत माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका छन्।

उनी नन्दकिशोर पुन नामबाट पनि चिनिदैं आएका छन्।

चुनावमा खसेको कुल ५ सय ४७ मतमध्ये, माओवादीका पूर्व लडाकु कमाण्डरसमेत रहेका पुनले ३ सय २५ मत पाएको सभामुख ओनसारी घर्तीले संसदसमक्ष घोषणा गरिन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवले २ सय १२ मत प्राप्त गरे।

समर्थन

सत्तासाझेदार दलहरु नेकपा एमाले, राप्रपा नेपालसहित केही साना दलहरुको समर्थन पूर्व लडाकु कमान्डर नन्दबहादुर पुनलाइ थियो।

सशस्त्र युद्धको उद्गम थलो मानिने रोल्पा जिल्लामा जन्मिएका पुन उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा हालै सभामुख भएकी ओनसरी घर्तीले गरिन्, जो पुनकै जिल्लाकी हुन्।

 

आलोचना

विकट जिल्लाको विकट गाउँमा जन्मिएका ५० वर्षीय पुन विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरेका थिए।

कुनै बेला शिक्षकसमेत रहेका पुन द्वन्द्वकालमा माओवादीले खडा गरेको सेनाका कमाण्डरसमेत थिए।

करिब १७ हजारको ज्यान जाने गरि भएको सशस्त्र युद्धपछि शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सेना समायोजनका क्रममा पुनले उल्लेख्य भुमिका खेलेको उनका समकक्षीहरु बताउँछन्।

द्वन्द्वकालका बेला निस्वार्थ छबि बनाएका भनिएका पुन शान्ति प्रक्रियामा आएपछि भने लडाकू शिविरहरुको व्यवस्थापनका क्रममा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै आलोचित बनेका थिए।

शान्ति प्रक्रिया टुंगो लागिसकेपछि कुनै पनि लाभको पदमा नरहेका पुन त्यसताका नै दुवै मृगौला काम नलाग्ने भएर गम्भीर विरामी परेका थिए।

नेताहरु विरामी भएसँगै उपचारका लागि विदेश जाने प्रचलनमाझ बरु ज्यानै गए पनि नेपालमै उपचार गर्ने भन्दै उनी चर्चामा आएका थिए।

संघर्ष

ठूलो धनजनको क्षति हुने गरि वैशाखमा गएको विनाशकारी भूकम्पमा पुन बसिरहेको डेरामा पनि असर गरेपछि त्यसयता उनी, अस्थायी टहरामा बस्दै आएका छन्।

दोस्रो संविधानसभा चुनावमा कांग्रेस नेता गगन थापासँग काठमाडौं क्षेत्र नम्बर ४ बाट उठेका पुन पराजित भएसँगै गुमनाम जस्तै थिए।

सभासद्समेत नभएपछि राजनीतिमा निस्क्रिय जस्तै रहेका उनै पुन एकीकृत माओवादीले कुनैबेलाको कट्टर आलोचक एमाले पार्टीसँग जोडेको सत्ता नाताका कारण उच्च पदमा पुग्न सफल भएका छन्।

पुनको विजयसँगै देशले नयाँ संविधानको भावना अनुसार फरक लिंग र समुदायको राष्ट्रपति र उपराष्ट्रपति पाएको छ।

आन्दोलनरत तराई केन्द्रित दलहरुले भने राष्ट्रपति चुनावमा जस्तै उपराष्ट्रपति चयनमा पनि भाग लिएनन्।

को हुन् पासाङ ?

रोल्पाको ग्रामीण इलाकामा जन्मेका पासाङको राजनीतिक जीवन ०३६ सालदेखि सुरु भएको थियो । उनी ०३७ सालमा राङसी विद्यालय इकाइ कमिटीका अध्यक्ष भए । ०३९ सालमा लिवाङमा पढ्दै गर्दा उनी अखिलको प्रथम उपकेन्ऽीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधिका रुपमा चुनिए ।

विद्यार्थी भएर कम्युनिस्ट राजनीति गरेको आरोपमा स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि उनी लिवाङ छोडेर पढाइका लागि थवाङ गए । ०४२ सालमा उनले थवाङबाट एसएलसी उत्तीर्ण गरे । दाङमा आइएसम्मको अध्ययन गरेपछि ०४३ सालमा आˆनै गाउँ राङसीमा शिक्षक बनेर फर्किई शिक्षक सङ्गठनमा आवद्ध भएका थिए ।

पासाङलाई ०४१ सालमा विद्यार्थी छँदै थवाङको पुलिसद्वारा उनलाई तीन दिन चौकीमा राखेर यातना दिइएको थियो । ०४८ सालमा १३ दिन लिवाङ पुलिस हिरासतमा बसेका पासाङलाई पछिल्लो चरणमा एकैचोटि २५/३० वटा मुद्दा लगाइएको थियो ।

दाङ क्याम्पसमा पढ्दै गर्दा ०४६ सालमा उनी विद्यार्थी क्याम्पस इकाइ अध्यक्ष भए । त्यही क्रममा उनीमाथि अनेक मुद्दा लग्यो ।०४६ सालमै पार्टी सदस्यता प्राप्त गरी उनी एकता महाधिवेशनपछि बनेको नेकपा एकता केन्ऽको पार्टी सदस्य र युवक संगठनको सदस्य भए । ०४८ मा उनी पार्टीको पूर्णकालीन सदस्यभई भूमिगत राजनीतिमा प्रवेश गरे । ०५१ मा उनलाई प्रहरीको गोली समेत प्रहार भएको थियो । देब्रे हातमा गोली लागेको थियो ।

नेकपा एकताकेन्द्र बनेपछि उनी रोल्पा जिल्लाको पहिलो जिल्ला कमिटी सदस्य भए । जनयुद्धको तयारीका क्रममा उनी रोल्पा जिल्ला सदस्य, वाइसीएलका अध्यक्ष तथा सैन्य प्रशिक्षक भए ।

त्यसपछि ०५२ सालमा जनयुद्धको थालनीदेखि लडाकु दलको कमाण्डर हुँदै उहाँ ०५५ मा टास्क-फोर्स कमाण्डर र ०५६ मा स्थापित छापामारहरूको पहिलो कम्पनीका कमाण्डर भए । त्यसपछि बटालियन कमिसार, बटालियन कमाण्डर, बि्रगेड कमाण्डर, डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर र प्रमुख कमाण्डरसम्म भए ।

तत्कालीन जनमुक्ति सेनासँग रहेका ८१ एमएम मोर्टार र त्यसका सेलहरू, टु इन्च मोर्टार र त्यसका सेलहरू, डिर्चाज कम र स्वचालित हतियारका पार्टपूर्जाहरू उनकै निर्देशनमा बनाइएको माओवादी पूर्वलडाकुहरुले दाबी गर्ने गरेका छन् ।