काठमाडौं । उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा शनिबार मतदान हुँदैछ । उक्त पदका सत्तारुढ गठबन्धनका उम्मेद्वार एकीकृत नेकपा माओवादीका नन्दकिशोर पुन (पासाङ) र नेपाली कांग्रेसका उम्मेद्वार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुँदैछ ।
शुक्रबार संसद सचिवालयले निर्धारण गरेको समयमा चार जनाको उम्मेद्वारी दर्ता भए पनि दुई जनाले मनोनयन फिर्ता लिएपछि पासाङ र यादवबीच प्रतिष्पर्धा हुन लागेको हो ।
दलहरुबीचको अहिलेसम्मको समीकरण अनुसार पासाङ उपराष्ट्रपति बन्ने करिब निश्चित भएको छ । संसदमा हाल कायम रहेको संख्या पाँच सय ९७ अनुसार उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा दुई सय ९९ मत आवश्यक पर्छ । सत्तारुढ दलमा भएका सांसदको संख्याका आधारमा पासाङको जीत करिब निश्चित भएको हो ।
राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति पदका लागि पनि सांसदले गोप्य मतदान गर्नेछन् । बिहान ११ बजेदेखि अपरान्ह दुई बजेसम्म मतदान हुनेछ । मतको परिणाम भने साँझ पाँच बजेको संसद बैठकमा प्रस्तुत हुनेछ ।