काठमाडौं । संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

व्यवस्थापिका-संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराहृन १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव उम्मेद्वार छन् भने सत्तारुढ दलले उम्मेद्वार तय गरेका छैनन् ।

उम्मेद्वारी दर्ता भएपछि दिउँसो साढे एक बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिबार बिहान ११ बजेदेखि अपराहृन २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ ।

शनिबार अपराहृन साढे २ बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका-संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।