काठमाडौं।नेपालको राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उनी नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी छिन्।
राष्ट्रपति पदमा बुधबार भएको मतदानमा उनले स्पष्ट बहुमत प्राप्त गरेर राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। भण्डारीसँग कांग्रेसका पुराना नेता कुलबहादु गुरुङ पराजित भएका छन्।
बिद्या भण्डारीले ३२७ मत र कुलवहादुर गुरुडले २१४ मत पाएका छन्। नयाँ राष्ट्रपतिलाई लिन कारगेट गाडीसहितको सुरक्षा टोली संसद् भवनमा पुगिसकेको छ। भण्डारीलाई बधाइ दिने क्रम सुरु भएको छ।
भण्डारीएमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन्। रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण जिम्मेवारी समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण पार्टीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाएको हो।
२०१८ साल असार ५ भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी भण्डारीले स्तानकसम्मको अध्ययन गरेकी छिन्।तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा उनको बिबाह भएको थियो।
बिद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहेकी भण्डारी २०३५ सालदेखि तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लीगमा संगठित राजनीतिक यात्रा सुरु गरेकी थिइन्।२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि भएकी विद्याले २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त गरेकी थिइन्।
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनी केन्द्रीय नेतृत्वमा क्रियाशिल भएकी थिइन्। २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएकी विद्या त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा चुनिएकी थिइन्।
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित विद्या २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उनी अत्यधिक मतले उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०५१ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समालेकी विद्या २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०६७ बाट २०६९ सम्म रक्षामन्त्री भएकी थिइन्।