काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न स्थानमा प्रहरीले राति स्कर्टिङ गरी लगिँदै गरेका दर्जनौँ सवारीसाधनमा तोडफोड गरिएको छ ।
राति प्रहरीले स्कर्टिङ गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चाले ढुङ्गामुढा गरी जिल्लाको भारदह, रुपनी, कञ्चनपुर बैर, बरमझियालगायतका स्थानमा दर्जनौँ सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सडकको छेउ–छेउमा लुकेर बसेका प्रदर्शनकारीले सवारीसाधनमा ढुङ्गामुढा गरी क्षति पुर्याएका हुन्। सवारीसाधनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
सप्तरी प्रशासनले राजमार्ग क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी दिनहुँ सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्याउने गरेको छ ।
आइतबार राती मात्रै सप्तरी प्रहरीले पूर्व र पश्चिम गरी ६०० भन्दा बढी सवारीसाधनलाई गन्तव्यमा पुर्याउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
यसैबीच, सप्तरी मोर्चाले दसैँभरि खुकुलो पारिएको बन्दलाई दसैं सकेपछि पुनः आन्दोलनलाई कडा पारेको हो । आन्दोलनकारीले सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्दै बजार, पसल यातायात, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखानालगायत सबै ठप्प पारेका छन् । रासस