एजेन्सी।विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।

बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।

बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले ११ बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।

बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा  र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।

‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’

बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।