काठमाडाैं । चीनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आउने पक्का भएको छ। वाणिज्य मन्त्रालय उच्च स्रोतका अनुसार तेल आपूर्तिका लागि नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनबीच सम्झौता हुँदैछ।

सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली एक/दुई दिनभित्रै बेइजिङ जाँदैछ। टोलीमा अर्थ, परराष्ट्र मन्त्रालयका सहसचिव, आयल निगमका प्रतिनिधि समेत रहने छन्।    नेपालले सम्झौतापत्रको ड्राफ्टसमेत तयार गरिसकेको छ। वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको स्रोतले बतायो।

‘हामीले सम्झौतापत्रको ड्राफ्ट बनाएर परराष्ट्र मन्त्रालयमा दिइसकेका छौँ। परराष्ट्र मन्त्रालयले चीनसँग सम्झौंताको समय मिलाउन पत्र समेत पठाइसकेको छ’, स्रोतले भन्यो, ‘परराष्ट्रले चीन जाने टोलीलाई अलर्ट बस्न भनेको छ। समयमिल्ने बित्तिकै टोली चीन गएर सरकार-सरकारबीच तेल आपूर्तिका लागि सम्झौता हुनेछ।’ यो सम्झौतापछि चीनबाट तेल ल्याउन औपचारिक बाटो खुल्नेछ।

यो सम्झौतापछि चीनले नेपाललाई एक हजार टन पेट्रोलियम पदार्थ अनुदानमा दिन समेत सहमति जनाइसकेको छ।   ‘यो सम्झौता भएपछि केरुङ नाकाबाट एक हजार टन तेल अनुदानमा चीनले दिने सहमति समेत गरिसकेको छ’, स्रोतले भन्यो, ‘नेपाललाई संकटमा परेको बेलामा सहयोग गर्न चीन आतुर देखिएको छ।