भारतको आन्ध्र प्रदेश कोलकाताबाट महोत्तरीमा भित्रिने माछामा फर्मालिन केमिकल प्रयोग हुने गरेको छ। सामान्यतयाः लास कुहिन नदिन प्रयोग गरिने यो रसायन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
आन्द्रा र कोलकाताको समुन्द्रमा मारिएका माछा महोतरीका बजारसम्म आइपुग्न झन्डै १२ देखि १४ दिन लाग्छ। यस अवधिमा माछालाई कुहिन नदिन फर्मालिन प्रयोग गरिएको हो। फर्मालिनमा चोभिएको माछा लामो समयसम्म पनि ताजा देखिन्छ। फर्मालिन र पानीको समिश्रण प्रयोग गरिएको माछा पानीबाट झिकिएको १५ दिनमा  काट्दा भर्खरै झिकिए झैँ रगत आउँछ।
फर्मालिन विषादी हो, यो खाँदा मान्छेको कजेजोमा नोक्सानी पुर्याउँछ, भने मृत शरीरलाई कुहिनबाट रोक्न प्रयोग गरिने फर्मालिन जिउँदो शरीरका लागि पाच्य हुँदैन।
महोत्तरीको माछाको ठूलो बजार मटिहानी, जलेश्वर, पिपरा, रामगोपालपुर, सम्सी, गौशाला, बर्दिबास र औरहीमा  दैनिक दुई हजार पाँच सय किलो माछा खपत हुन्छ।  महोत्तरीमा दैनिक विक्री हुने माछामध्ये ६० प्रतिशत भारतबाट आउँछ।
आन्द्रा र कलकताको समुन्द्री इलाकामा मारिएको माछा नेपालसम्म आइपुग्न १२ देखि १४ दिन लाग्ने भएकाले कुहिन र गन्हाउन नदिन फर्मालिन केमिकल सिरिञ्चनको सहायताले माछाको पेटमा हालिन्छ। फर्मालिनमा चोभिएको माछा महोतरीको बजारमा छ्यापछ्याप्ती पाइन्छ।
महोतरीमा भारतका कमन, भ्याकुर रहु नैनी र ग्रास माछाको बढी खपत हुन्छ। लोकलभन्दा आन्द्रा र कलकताको माछा सस्तो र आकारमा ठूलो हुन्छ।
महोत्तरीका बजारहरुमा लोकल रोह र नैनी माछा प्रति किलो दुईसय ६० देखि तीनसय रुपैयाँसम्म विक्री हुन्छ भने भारतका माछा एक सय ४० देखि दुइ सय रुपैयाँमा एक किलो पाइन्छ। कृषि विकास कार्यालय महोत्तरीका  अनुसार महोत्तरीमा वार्षिक १ हजार ४ सय ७६ टन माछा उत्पादन हुन्छ। उपभोक्ताको कुल मागको ४० प्रतिशत पनि स्थानीय माछाले धान्दैन, उनले भने। भारतको आन्द्राप्रदेश र कोलकताबाट महोत्तरीमा भित्रिने माछा नारायणघाट, हेटौडा, बनेपा, ललितपुर र काठमाडौँसम्म पुग्ने गरेको छ।