काठमाडौं ।  लामो दुरीका सवारीसाधनलाई सहज रुपमा इन्धन उपलब्ध गराएसँगै उपत्यका छाड्नेको संख्या दैनिक बढीरहेको छ। इन्धनको सहजतापछि घटस्थापनायता घर फर्कनेको संख्या दुई गुणा बढेको हो।

घटस्थापनाअघि राजधानीबाट बाहिरिनेको संख्या करिब ३० हजारजति थियो। अहिले दैनिक ७५ हजारभन्दा बढी यात्रु घर फर्किरहेका छन्।

यात्रु संख्या बढेसँगै व्यवसायीले सवारीसाधन पनि थपिरहेका छन्। यात्रुको चापअनुसार व्यवसायीले दैनिक ५/७ वटा सवारी थपिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार घटस्थापनायता ६ दिनमा उपत्यकाबाट ४ लाख १० हजार २ सय ६५ यात्रु घर फर्केका छन्। तीन दिनयता औसतमा दैनिक ८० हजारले उपत्यका छाडिरहेको र टीका नजिकिँदै जाँदा यात्रु संख्या बढीरहेकाले अब औसतमा दैनिक एक लाख यात्रु बाहिरिने अनुमान महाशाखाले गरेको छ।

महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार घटस्थापनायता आइतबार सबैभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्। आइतबार ८५ हजारले उपत्यका छाडेको उनले बताए।

महाशाखाको तथ्यांक अनुसार गत वर्ष घटस्थापना यता ६ दिनमा ६ लाख २० हजार ३ सय ४१ जना बाहिरीएका थिए।