काठमाडौं । सरकारले मुलुकमा देखिएको तत्कालीन इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ ।
भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई यस्तो आग्रह गरिएको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्रमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।
नेपाल आगल निगमका एक उच्च अधिकारीले इन्धन संकटबाट मुलुक धेरै समय गुज्रिन नसक्ने भएकाले चीनसमक्ष दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइएको बताए ।
‘भारतीय आयल निगमसँगको मात्रै नेपालमा एकाधिकार स्थापित भएको छ । अहिले भोगेको जस्तो भारतीय नाकाबन्दी फेरि भविष्यमा भारतले नगर्ला भन्न सकिन्न ।
 त्यस कारण चीनसँग पनि आईओसीसँग जस्तै पेट्रोलियम पाइपलाइन सम्झौता सरकारले गरोस् भन्ने हाम्रो चाहना हो’, आयल निगमका ती अधिकारीले भने ।
नेपालको आग्रहमा चीन अत्यन्तै सकारात्मक देखिएको अधिकारीहरूले जानकारी दिए ।
नेपालले उच्च राजनीतिक तहबाट ठोस प्रस्ताव गरेमा सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गरिदिन सक्ने राजदूत ऊले बताएका थिए । सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्ने उनको भनाइ थियो ।
सवारीसाधनबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याइन्छ । नेपाल र चीनबीचको दोस्रो ठूलो सीमानाका रसुवागढीबाट केरुङ २५ किलोमिटर दूरीमा छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन र नेपाल तयार छन् ।