बागलुङ। भारतले गरेको अघोषित नाकाबन्दीले औषधि आपूर्ति रोकिएपछि धौलागिरिका अस्पताल र मेडिकल हलमा औषधि अभाव भएको छ ।

बिरामीले सहज रुपमा औषधि पाउन सकेका छैनन् भने अस्पतालमा प्रसूति, आकस्मिकलगायतका सेवा प्रभावित बनेका छन् ।

बागलुङ, म्याग्दी र पर्वतमा रहेका अञ्चल, जिल्ला अस्पताल, ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा जिङ्क चक्की, एन्टासिड, गज ब्याडेज, सर्जिकल ग्लोब, एमोक्सोलिन, हायासिन ट्याप्लेट र आँखा रोगसम्बन्धी औषधिको अभाव भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आपूर्ति रोकिएपछि उच्च रक्तचाप, मधुमेह, एन्टिबायोटिक, स्लाइन, सुई जस्ता औषधि र औजारको अभाव देखिएको नेपाल औषधि व्यवसायी सङ्घ धौलागिरि शाखाका अध्यक्ष टेकनारायण शर्माले बताए ।

‘बिरामीले आफूले नियमित प्रयोग गर्दै आएको औषधि खोज्छन्, कम्पनी फरक हुँदा पनि बिरामी चित्त बुझ्दैन’ औषधि व्यवसायी सङ्घका अध्यक्ष शर्माले भने ।

जिल्ला स्वास्थ्य कार्यालयका गोदाममा पनि औषधि रित्तिन थालेको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि सकिएपछि सर्वसाधारण निजी क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् ।

दोस्रो चौमासिकका लागि गाउँका स्वास्थ्य संस्थामा पठाउने औषधि असोज महिनाभित्र नै जिल्ला आइपुग्नुपर्नेमा अझै पुग्न सकेको छैन ।

बागलुङमा रहेको नीलगिरि अस्पतालका मेडिकल निर्देशक गोविन्द गौतम जोशीले केही साता यस्तै अवस्था रहे अस्पतालका सबै सेवा ठप्प हुने बताए । नीलगिरि अस्पतालले अत्यावश्यकीय सेवा प्रभावित हुन नदिन पोखरालगायतका ठाउँमा औषधि ल्याएर सेवा दिइरहेको छ । रासस