काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीका कारण चीन तथा तेस्रो मुलुकबाट नेपाल आउन लागेका करिब ७ हजार मालवाहक कन्टेनर भारतमा अलपत्र छन् । भारतले सीमा क्षेत्रमा असुरक्षाको कारण देखाउँदै सामान बोकेका ट्रक नेपाल छिर्न रोकेपछि कोलकाता बन्दरगाहलगायत अन्य भन्सारमा कन्टेनर अलपत्र परेका हुन् ।
समयमा कन्टेनर जाँचपास गरेर नेपाल भित्रिन महिनौं लागेपछि आयातकर्ता व्यवसायीले कन्टेनर रोकिएवापतको करोडौं रुपैयाँ बिलम्ब शुल्क तिर्नुपरेको छ । कन्टेनर र कार्गो आवागमनमा धेरै ढिलो हुँदा ठूलो नेपाली व्यवसायीले करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपरेको कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले बताए।
कोलकाता बन्दरगाह, कन्टेनर तथा कार्गो जाँच हुने भारतीय भन्सार र नेपाल–भारत सीमामा चीन तथा तेस्रो मुलुकबाट आएका ६ हजार ९ सय कन्टेनर अहिले भारतीय भूमिमा रोकिएको उनले कोलकाताबाट टेलिफोनमा जानकारी दिए ।
तेस्रो मुलुकबाट आएका सामान नेपालसम्म पुर्याएर समयमै कन्टेनर सिपर कम्पनीलाई फर्काउनुपर्छ । तर, छोटो अवधिमा उक्त काम पूरा गर्न सम्भव हुँदैन र बढी समय लाग्नासाथ कम्पनीले व्यवसायीलाई प्रतिदिन उच्च दरमा ‘डिटेन्सन चार्ज’ (ढिलाइवापत तिर्नुपर्ने जरिवाना) लगाउँछ । यही चार्ज तिर्न अहिले व्यवसायी हैरानी बेहोरिरहेको महावाणिज्य दूतावासले जनाएको छ ।
कोलकाता बन्दरगाहमा मात्र अहिले २ हजार ४ सय कन्टेनर जाँचपास हुन नसकेर थन्किएका छन् जसका कारण बन्दरगाह भरिएर अरू कन्टेनर ल्याएर राख्ने ठाउँसमेत नरहेको घिमिरेले बताए । उनका अनुसार बन्दरगाहबाट कन्टेनर पास नभई रोकिँदा व्यवसायीले सिपिङ लाइनर्सलाई प्रतिदिन प्रतिकन्टेनर १ सय ३५ अमेरिकी डलर (करिब साढे १३ हजार रुपैयाँ) बिलम्ब शुल्क डलर तिर्नुपरेको छ ।