काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दसैँ, तिहार तथा छठ विदाका दिनमा केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालय दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुने भएको छ ।

आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज एक प्रेस विज्ञप्ति जारी गरी आमनागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको उल्लेख छ ।

आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतिका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।

दसँै, तिहार र छठलाई ध्यानमा राखेर आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्ने तथा सांस्कृतिक अधिकारको संरक्षण गर्न आन्दोलनरत राजनीतिक दललाई आयोगले आग्रह गरेको छ ।

साथै, विगत लामो समयदेखि औषधि, ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज नभएका कारण दैनिक जनजीवनमा पर्न गएको प्रभाव न्यून गर्न तथा उपभोक्ताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई प्रभावकारी रुपमा संरक्षण गर्न आयोगले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । रासस