नयाँदिल्ली : भारतले तीन सातायता लादेको नाकाबन्दीले नेपालमा जनजीवन आक्रान्त भइरहेका बेला भारतीय आयल निगम नेपाललाई पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न अझै तयार देखिएको छैन ।
भारतसँगको तिक्त सम्बन्ध सुधार्न भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शनिबारदेखि भारत भ्रमण सुरु गर्न लागे पनि भारतीय पक्षबाट नेपाललाई सहज रुपमा इन्धन आपूर्ति गर्नेबारे सकारात्मक कुराकानी हुन नसकेको हो ।
भारतीय आयल निगम (आईओसी) का अध्यक्ष बी अशोकले नेपाल आयल निगमका उच्च अधिकारीसँग शुक्रबार नयाँदिल्लीमा हुने भनिएको पूर्वनिर्धारित भेटवार्ता अस्वीकार गरेका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतसँगको द्विपक्षीय आर्थिक मामिला हेर्ने सहसचिव ढुण्डीराज पोख्रेलका अनुसार नेपाल आयल निगमका कार्यवाहक निर्देशक मुकुन्दप्रसाद घिमिरेले भारतीय आयल निगमका अध्यक्षसँग शुक्रबार भेट्ने निश्चित भएको थियो ।
‘तर बिनाकारण अध्यक्षसँगको भेटघाट रद्द भएको जबाफ दिइयो’, पोख्रेलले भने । तर घिमिरेलाई आईओसी पदाधिकारीले अध्यक्षसँग नभई भारतीय आयल निगमका प्रशासन हेर्ने डीजीएम सुनिल गर्गसँग अनौपचारिक वार्ता गराए । ‘हामीले अहिले इन्धन रोकिएका विषयमा आईओसीका अध्यक्षलाई भेटेर छलफल गर्न पाएनौं’, घिमिरेले अन्नपूर्णसँग भने ।
घिमिरेका अनुसार अनौपचारिक वार्ताका क्रममा आईओसीका डीजीएम गर्गले भारततर्फबाट इन्धन पठाउन कुनै समस्या नरहेको र नाकाबन्दी नरहेको दाबी गरे । ‘अनौपचारिक वार्तामा इन्धन सहज आपूर्ति हुने या नहुनेबारे कुनै निष्कर्ष निकाल्न सकिएन’, उनले भने ।
सहसचिव पोख्रेलले उपप्रधानमन्त्री थापासँग आयल निगमका महाप्रबन्धक गोपाल खड्का आएमा भारतीय पक्षसँग थप कुराकानी हुनसक्ने बताए । स्रोतका अनुसार उपप्रधानमन्त्री थापासँगका द्विपक्षीय वार्तापछि नाकाबन्दी हटाएर पेट्रोल र ग्यास सुचारु गर्ने या नगर्नेबारेमा भारतीय पक्षले निर्णय लिने देखिएको छ ।
नयाँ संविधान आफूअनुकूल नबनेकोमा रुष्ट बनेको भारतले नेपालमाथि तीन सातायता नाकाबन्दी लगाएको छ । नेपालले इन्धन र उपभोग्य सामान बोकेका भारतीय गाडीहरूलाई नेपाल भित्रिंँदा कुनै सुरक्षा खतरा नरहेको भन्दै पटकपटक आश्वस्त गराए पनि भारतले इन्धन बोकेका गाडी नेपालतर्फ जान रोक्दै आएको छ ।