काठमाडौं : मुलुकको संसदीय इतिहासमा ओनसरी घर्तीमगर पहिलो महिला सभामुख बनेकी छिन् । एमाओवादी नेत्री मगर निवर्तमान उपसभामुख हुन् । शुक्रबार संसद्मा भएको निर्वाचनमा मगर एकमात्र सभामुख पदको उम्मेदवार थिइन् ।
प्रमुख विपक्षी कांग्रेसले पनि उनलाई समर्थन गरेपछि नेमकिपाले आफ्नो उम्मेदवारी फिर्ता लिई मगरलाई सर्वसम्मत हुने बाटो खोलिदिएको हो । बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य लक्ष्मण राजवंशीले नेमकिपाको उम्मेदवारी फिर्तापछि मगर सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए । राप्रपा नेपालका गंगाप्रसाद यादव पनि उपसभामुखमा निर्विरोध निर्वाचित भए ।
सत्तासीन एमाले, एमाओवादी, राप्रपा नेपालको सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी मगरलाई प्रमुख विपक्षी कांग्रेसले पनि समर्थन जनाएको हो । नेमकिपाले अनुराधा थापामगरलाई सभामुखको उम्मेदवार बनाए पनि सबै दलले ओनसरीलाई समर्थन जनाएपछि नेमकिपाले उम्मेदवारी फिर्ता लिएको थियो ।
एमाले उपाध्यक्ष विद्या भण्डारीको प्रस्तावमा उम्मेदवार बनेकी मगरलाई राप्रपा नेपालकी कुन्ती शाही र बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवानले समर्थन जनाएका थिए । ‘रोल्पाजस्तो ठाउँमा जन्मिएर उपसभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभयो,’ भण्डारीले भनिन्, ‘सभामुखमा महिला हुनु संसारका लागि खुसीको दिन हो ।’मतदानका क्रममा कांग्रेसका रामचन्द्र पौडेल, नेकपा मालेकी कमला विश्वकर्मा, संयुक्तकी मिथिला चौधरी, राप्रपाकी राज्यलक्ष्मी श्रेष्ठ, जनता पार्टीका हरिचरण साह, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) की सीमाकुमारी विकलगायतले पनि घर्तीको समर्थन जनाएका थिए ।
प्रधानमन्त्री केपी ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष पुष्पकमल दाहालले मगरलाई समर्थन जनाइदिन आग्रह गरेकाले आफ्नो पार्टीले पनि उनलाई समर्थन जनाएको कांग्रेस उपसभापति पौडेलले बताए । ‘सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गरी सहज वातावरण बनाइदिनुहोला भन्ने पत्र हाम्रो पार्टीका सभापतिलाई आएकाले हामीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउँछौं,’ मतदानअघि पौडेलले संसद्मा भने ।
प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सघाएका मधेस केन्द्रित दलले सभामुखमा भने कांग्रेसलाई सहयोग नगर्ने जनाउ दिएपछि कांग्रेसले उम्मेदवारी नदिएको स्रोतले बतायो । नेमकिपाका प्रेस सुवालले पदका लागि आफ्नो पार्टीले सभामुखमा उम्मेदवारी नदिएको भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए । त्यसअघि कानुनमन्त्री अग्नि खरेलले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे र नेता प्रेम सुवालसँग पार्टीको उम्मेदवारी फिर्ता लिई सत्ता गठबन्धनका उम्मेदवारलाई सर्वसम्मत बनाइदिन आग्रह गरेका थिए ।
नवनिर्वाचित सभामुख मगर एमाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुदमन्त्री भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट विजयी मगर उपसभामुख बनेकी थिइन् ।
सत्ता गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार बनेका यादव प्राविधिक रूपमै सर्वसम्मत भएका थिए । उनको विपक्षमा नेमकिपाका डिल्ली काफ्ले मैदानमा उत्रिएका थिए । तर एउटै दलका तर्फबाट सभामुख र उपसभामुखको उम्मेदवार बन्न नपाइने नयाँ संविधानको व्यवस्थाअनुसार काफ्लेको उम्मेदवारी रद्द भएको थियो । यादवको प्रस्तावक एमाले सभासद शत्रुघन महतो थिए भने एमाओवादीकी रेखा शर्माले समर्थन जनाएकी थिइन् ।
नवनिर्वाचित सभामुख मगरले आफ्नो विजय नेपाली जनताको विजय भएको बताइन् । ‘नयाँ संविधानले व्यवस्था गरेको सम्पूर्ण प्रावधानलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्नेछु,’ मगरले भनिन्, ‘हामी सवै नेपाली जनता एक भएर मात्रै नेपाल जित्न सक्छौं । मेरो विजयमा सम्पूर्ण राजनीतिक दलको एकता अभिव्यक्त भएको छ । यो एकता अझै कायम रहे नेपाललाई समृद्ध बनाउनेछ ।’
उपसभामुख यादवले सभामुखमा जनजाति महिला र उपसभामुखमा मधेसी विजय हुनु समावेशी लोकतन्त्रको अनुपम उदाहरण भएको तर्क गरे । संसद् सचिवालयका अनुसार नवनिर्वाचित सभामुख र उपसभामुखको निर्वाचन आइतबार हुनेछ ।