काठमाडौं। सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।

इन्धन भर्न गएका नेपाली ट्यांकरहरुलाई भारतीय डिपोहरुले न्युन मात्रामा कोटा प्रणालीबाट तेल दिएकाले अवरोध नभएका नाकाबाट पनि पर्याप्त मात्रामा इन्धन आउन सकेको छैन ।

शुक्रबार रातिसम्म रुपन्देहीको बेलहीया सुनौलि नाकाबाट २ सय ९६ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । त्यस्तै पेट्रोलियम पदार्थका २० वटा र ६४ वटा पिकअप गाडी समेत शुक्रबार राति यो नाका भएर नेपाल भित्रिएको छ ।

यस्तै मध्य पश्चिमको नेपालगञ्ज–रुपैडिहा नाकाबाट शुक्रबार रातिसम्म १ सय १८ वटा गाडीहरु नेपाल प्रवेश गरेकोमा १८ वटा पेट्रोलियम पदार्थको ट्याङ्कर रहेका छन् ।

उता, कांकडभिट्टाको मेची भंसारबाट शुक्रबार रातिसम्ममा १ सय ८५ वटा गाडी नेपाल प्रवेश गरेकोमा पेट्रोलियम पदार्थका १७ वटा रहेका छन् । जसमा डिजल १०, पेट्रोलको ६, ग्यास बुलेट ३, मट्टितेल १ र एउटा हवाई इन्धन रहेका छन् ।

बिराटनगरको रानी भंसारबाट शुक्रबार रातिसम्म ७१ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेकोमा पेट्रोलियम पदार्थ बोकेको ७ वटा र ग्यास बुलेटका ११ वटा रहेका छन् ।

नेपालबाट इन्धन भर्न जोगवनी हुंदै दैनिक ४० वटा ट्याङकर भारत बरौली डिपो पठाएपनि भारतीय आयल कर्पोरेसनले दैनिक १० वटालाई मात्र तेल दिने गरेको छ ।

नाकामा कुनै अबरोध नरहेपनि मागेजति तेल आयुसिले नदिंदा इन्धन भित्राउन नसकिएको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए ।