काठमाडौं।  भारतले लगाएको नाकाबन्दी, असहज आपूर्ति व्यवस्थालगायत दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा देखिएको असमझदारी हटाउन उपप्रधानमन्त्री थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार भारत जाँदैछन् ।
तीनदिने भ्रमणका क्रममा थापाले भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाइदिन भारत सरकारसँग औपचारिक संवाद गर्न लागेका हुन् । भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफूले कुराकानी गर्ने मन्त्री थापाले बताए।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग शनिबार साँझ ७ बजे भारतीय विदेश मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने निश्चित भएको छ । भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरले मन्त्री थापालाई अलगअलग भेट्ने भएका छन् ।
भ्रमण टोलीमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्याय, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव भरतकुमार रेग्मी, उपसचिव भृगु ढुंगाना र अधिकृत हरि ओडारी छन् । त्यस्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, दूतावास उपप्रमुख कृष्ण ढकाल र पोलिटिकल काउन्सिलर तीर्थराज वाग्ले नयाँदिल्लीमा हुने उच्चस्तरीय भेटवार्तामा सहभागि हुनेछन् ।