भारतको अघोषित नाका बन्दीले सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा समस्या परिरहेका बेला राजधानीमा निशुल्क यातायात सञ्चालन गरिएको छ । बज्र एकेडेमीले ब्याट्रिबाट चल्ने १५ सिटे सवारी साधन बुधबारदेखि राजधानीमा सञ्चालन गरेको छ । ललितपुरको चापागाँउ देखि जावलाखेल, पुल्चोक तथा कोटेश्वर हुँदै बानेश्वरसम्म विद्युतीय बस सञ्चालन गरिएको छ । एकेडेमीले सञ्चालन गरेको बिद्युतीय बस निशुल्क रुपमा सेवा दिने भएको छ । कुनै पनि यात्रुबाट रकम नलिने गरी बस सेवा सञ्चालन गरिएको एकेडेमीले जनाएको छ ।
एक पटक चार्ज गरेपछि ४० किलोमिटर यात्रा गर्न सकिने र १५ जनाको सीट भएको यो बसले दैनिक सेवा प्रदान गरेको एकेडेमीका अध्यक्ष रामकाजी पौडेलले बताए । यदी कसैले यस्तो बस बाटोमा देख्नु भएमा लिप्mट माग्न पनि उनले आग्रह गरे । नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले वातावरण संरक्षण र बैकल्पिक उर्जाको उपयोगबाट आफूलाई नमूना विद्यालयको रुपमा प्रस्तुत गर्दै आएको छ ।
यो एकेडेमीले विद्यालयमा सौर्य वाष्प चुल्होको प्रयोग, वायोग्याँस, विद्युतबाट चल्ने बस, तरकारी खेत, गाईपालन जस्ता व्यवहारिक ज्ञानसहितको शिक्षा प्रदान गर्दै आएको छ । सन् २००७ मा स्थापना भएको यो विद्यालयले बि.सं. २०७२ सालको एस.एल.सी.मा ११ जना विशिष्ट श्रेणी सहित शतप्रतिसत नतिजा प्राप्त गर्न सफल भएको थियो ।