काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेका छन्।
सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा सिफारिस भएपछि वरिष्ठ अधिवक्ता कार्कीले बिहीबार बार अध्यक्ष पदबाट राजीनामा दिने भएका छन्। बार अध्यक्षमा उनको कार्यकाल आगामी पुससम्म थियो।
महान्यायाधिवक्तामा सिफारिस भएपछि कार्कीले फौजदारी न्याय प्रणाली सुधारका लागि योजना बनाएर काम गर्ने बताए। ‘सबै कुरा बुझेर-अध्ययन गरेर के गर्न सकिन्छ त्यहीअनुरूप अघि बढ्छु’, कार्कीले अन्नपूर्णसँग भने, ‘फौजदारी न्याय प्रणाली सुधारका पक्ष के के हुन सक्छन्, योजना बनाएर काम गर्नेछु।’
ओखलढुंगामा जन्मिएका कार्कीले झन्डै ३२ वर्ष कानुन व्यवसायीका रूपमा वकालत गरेका छन्। बिहीबार राष्ट्रपतिबाट नियुक्ति र शपथ लिएपछि कार्कीले कार्यभार समाल्नेछन्।