काठमाडौ । व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई गर्नेछन् ।
सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । नयाँ संविधानको धारा २९९ (२) मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो ।
सभामुखज्यूले बुधबार राजीनामा बुझाउनुहुनेछ,’ सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने । संविधानको उक्त प्रावधानमा अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरूले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एकजना निर्वाचित गर्ने व्यवस्था छ ।
०६२/६३ को जनआन्दोलनपश्चात् प्रतिनिधिसभा पुन:स्थापना भएयता नेम्वाङ लगातार सभामुख पदमा क्रियाशील छन् । दोस्रो संविधानसभाबाट संविधान जारी गराउन सन्तुलित र सक्रिय भूमिकाका कारणले पनि नेम्वाङको सम्भावना रहेको नेताहरू बताउँछन् ।
नेम्वाङले राजीनामा दिएपछि उपसभामुख ओनसरी घर्तीले कार्यवाहक सभामुखका रूपमा निर्वाचन गराउनेछिन् ।