काठमाडौं।भारत पक्षद्धारा गरिएको अघोषित नाकाबन्दी खुकुलो भएपछि पेट्रोलियम पदार्थका ट्याङ्कर लगायतका मालबाहक सवारी धमाधम भित्रिन थालेका छन्। आइतबार र सोमबार पूर्ण ठप्प रहेको जोगबनी भन्सारमा मंगलबार विहानै पेट्रोलियमका ट्याङकर भित्रिएका छन्।
विराटनगर भन्सार कार्यालयका अनुसार मंगलबार विहान १२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल आइसकेका छन्। अरू ५८ वटा ट्याङ्कर आउने क्रममा छन्।
‘आइतबार र सोमबार एउटा पनि मालबाहक सवारी आएका थिएनन्,’ विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले सेतोपाटीसँग भने, ‘मंगलबार विहानैदेखि भारतबाट मालबाहक सवारी आउन थालेका छन्।’
‘डिपोमा पुगेका बुलेट र ट्याङ्कर बुधबार गन्तव्यमा पुग्नेछन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले भने, ‘सिमा क्षेत्रमा आन्दोलनकारी नदेखिएकाले आपूर्ति सहज हुने विश्वास गरेका छौं।’
स्थानीय प्रशासनले पेट्रोलियम र ग्यासका गाडी भित्रिन थालेकाले दसैंमा सर्वसाधारणलाई सजिलो हुने जनाएको छ। ग्यास र पेट्रोलियमका सयौं गाडी भारततिर रोकिएका थिए।
सिमा क्षेत्रमा आन्दोलनकारी नदेखिएपछि ती गाडी नेपालतिर ल्याउन प्रयत्न भइरहेको प्रशासनले जनाएको छ। दसैंका लागि सार्वजनिक सवारीलाई तेल सहज आपूर्ति गराउने योजना रहेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए।
‘आन्दोलनकारीको भीड नदेखिएपछि पेट्रोलियम आउन थालेको छ, ग्यास भित्रिन थालेको छ,’ कार्कीले भने, ‘यो स्थितिमा दसैंमा आपूर्ति सहज हुने हाम्रो अनुमान छ।’
मोटरसाइकल धनीलाई यसअघि हप्तामा तीन लिटर पेट्रोल बाँड्ने गरिएको थियो। तेल आपूर्ति सहज बने त्यसमा अझै अनुकूल गराउने प्रशासनको योजना छ।
सुरक्षा स्रोतका अनुसार बिहारमा हुन गइरहेको विधान सभा निर्वाचनका लागि भारतीय पक्षले कडाइ थालेको छ। यसअघि भारतीय क्षेत्रबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपालतिर ढुंगामुढा गर्ने गरेका थिए।
सोमबारबाट भारत पक्षले सिमा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। भारतपक्षले सिमा क्षेत्रमा भेला जम्मा हुन रोक लगाएको छ। भारतले रोक लगाएपछि सिमामा रहेका आन्दोलनकारी पनि भागेका छन्।
आन्दोलनकारीको उपस्थिति नरहेपछि विराटनगरबाट जोगबनी किनमेलका लागि जानेहरू बाक्लिएका छन्। गाडी नचलेकाले सिटी रिक्सामार्फत किनमेलमा जानेको संख्या बढ्न थालेको छ। मंगलबारैबाट बजारमा मान्छेको चहलपहल पनि बाक्लिएको छ।