भद्रपुर । अघोषित नाकाबन्दीले गर्दा प्रभावित बन्न पुगेको मेची भन्सार कार्यालय काँकरभिट्टा नाका सहज बन्दै गएको कार्यालयले जनाएको छ ।
गएको असोज १ गतेदेखि आइतबार साँझसम्ममा सो कार्यालयबाट २४ करोड २३ लाख राजस्व सङ्कलन भएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीका अनुसार सामान्य अवस्थामा यो नाकाबाट दैनिक १ करोडदेखि १ करोड ५० लाखसम्म राजस्व सङ्कलन हुने गरेको थियो ।
अहिले बन्दको प्रभावले गर्दा भारततर्फ रोकिएका मालवाहक गाडी छिर्न थालेपछि दैनिक ४ करोडसम्म राजस्व सङ्कलन हुन थालेको उनले बताए ।
यसैगरी, आइतबार यस नाकाबाट १४ वटा इन्धनको गाडी भित्रिएको र आज २५ वटा इन्धनका ट्याङ्कर भारतको सिलिगुडी गएकाले साँझसम्ममा सो ट्याङ्कर पनि नेपाल भित्रिने भन्सार प्रमुख अधिकारीले दिए ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भनेपछि सोमबार डेढसय भन्दा बढी नेपाली ट्यांकरहरु भारत पुगेका छन् । शनिबार लोडिङमा भएको अवरोध हट्ने जानकारी गराएको आइओसीका भारतस्थित विभिन्न डिपोमा तेल लिन ट्यांकरहरु पुगेका हुन् ।