काठमाडौं । उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् ।

भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए ।

मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।

तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए ।

‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।

आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो ।