भारतको रुपैडिया नाकाबाट आज ३१ वटा डिजेलका ट्रयाङकर, ११ वटा ग्यासका बुलेट र ६ हवाई इन्धनका गरी ४८ गाडी पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।
भारतले अघोषित नाकाबन्दी शुरु गरेयता भारतीय सुरक्षाकर्मीले रोकेर राखेका इन्धनका सबै गाडी आज नेपाल भित्रिएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।
त्यसै गरी इन्धन भर्नका लागि २५ वटा गाडी आजै भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा गएको छ। ती गाडीहरु पनि भोलि साँझसम्म नेपाल भित्रने आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख श्री चन्द श्रेष्ठले बताए।
भारतबाट डिजेल सहज रुपमा भित्रिए पनि पेट्रोल भने अझै सहज रुपमा आउन सकेको छैन।
आयल निगमले इन्धन भर्ने भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा  नै पेट्रोल सकिएकाले पेट्रोलका ट्रयाङकरहरु  भित्रिन अझै ४/५ दिन लाग्न सकने प्रमुख श्रेष्ठले बताए।