काठमाडौं : प्रधानमन्त्रीका लागि नेकपा एमालेलार्इ समर्थन गरेलगत्तै एमाओवादीमा विवाद शुरु भएको छ ।

प्रचण्डको प्रस्तावमा एमाले अध्यक्ष ओलीले संसद् सचिवालयमा प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गरेपछि एमाओवादीका २९ जना नेताको नाममा विज्ञप्ती निकालेर आश्चर्य प्रकट गरिएको छ।

एमाओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल, नवराज सुवेदी, रामचन्द्र झा र महेन्द्र पासवानसहितले शनिबार निकालेको संयुक्त विज्ञप्तीमा नाकाबन्दी खोल्ने पहलकदमी लिनेतर्फ नलागी निशर्त: एमालेलार्इ समर्थन गर्ने निर्णयले देश दलदलमा फस्ने उल्लेख गरिएको छ ।

भारतको नाकाबन्दीपछि देशमा आपूर्ति व्यवस्था ठप्प भएको अवस्थामा राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका निम्ति नजुटी पार्टीले गरेको यो निर्णयले आफूहरुलार्इ आश्चर्यमा पारेको विज्ञप्तीमा भनिएको छ ।

२९ नेताको नाममा जारी विज्ञप्तीमा एमाओवादीबाट बाहिरिएका डा बाबुराम भट्टरार्इ पत्नी हिसिला यमीले पनि हस्ताक्षर गरेकी छन् । विज्ञप्तीमा १२ जना नेताको मात्र हस्ताक्षर रहेको छ ।

‘राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने यो अवस्थामा हामीलार्इ गभ्मीर आश्चर्यचकित बनाएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमत्ति रहेको जानकारी गराउन चाहन्छौं ।’