काठमाडौं। नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ ।
यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।
न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आएको थियो । अरू सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म (६ दिन) बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूर्णिमाको दिन पुनः बिदा दिइँदै आएको थियो ।
‘कामको चाप यसै पनि कम हुने समयमा बिदा दिँदा इन्धनलगायतको खपत कम भई मुलुकलाई लाभै हुने निष्कर्ष निकालेर लामो बिदाको निर्णय गर्न लागिएको हो,’ स्रोतले भन्यो ।