काठमाडौं। सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मंगलबार भएको औपचारिक वार्ता एकअर्काको कुरा सुनेर सकिएको छ । बुधबार फेरि वार्तामा बस्ने दुवै पक्षले बताएका छन् ।
‘राजनीतिक एजेण्डामा प्रवेश गर्नको लागि वातावरण बनाउने प्रयास भयो’ वार्तापछि मोर्चाका लक्ष्मणलाल कर्णले भन्नुभयो । सरकारले आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने, दंगाग्रस्त क्षेत्र र सेना परिचालन फिर्ता गर्ने लगायतका प्रतिबद्धता पूरा नभएको भन्दै मोर्चाले ध्यानाकर्षण गराएको थियो । सरकारी वार्ता टोलीले यसको पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता जनाएको छ ।
यसैबीच मोर्चाले आफुहरुको माग पूरा नहुँदासम्म नाकाबन्दी नखुल्ने बताएको छ । सरकारसँग वार्तापछि पत्रकारसँग कुरा गर्दै मोर्चाका नेता कर्णले जुनदिन आफुहरुको माग पूरा हुन्छ, त्यही दिनदेखि नाकाबन्दी खुल्ने प्रतिक्रिया दिनुभयो ।