जनकपुर। मधेसी मोर्चाले ५३ औं दिन पनि मध्य तराईमा बन्द जारी राखेको छ । लामो समयदेखिको बन्दका कारण स्थानीयको जनजीवन निक्कै कष्टकर बनेको छ ।

बन्दका कारण बजार, यातायात, पसल, बैंक, सरकारी कार्यालयका साथै शिक्षणसंस्था समेत खुल्न सकेका छैनन् । यातायातका साधन नचल्दा सामान ढुवानी हुन नसकेर बजारमा दैनिक उपभोग्यसामाग्रीको अभाव भएको छ ।

खाना पकाउने ग्यास, डिजल, पेट्रोल र खाद्य सामाग्रीको समेत अभाव देखिएको छ । दशैंको मुखमा पनि बजार र पसल खुल्न नसक्दा उपभोक्तालाई अत्यावश्यक सामाग्री किन्न कठीनाई भएको छ ।

बन्दबाट धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीलगायतका जिल्ला प्रभावित बनेका हुन् । मधेशी मोर्चाका कार्यकर्ताले भने जिल्लाहरुमा दिनहुँ जस्तो प्रदर्शन कायमै राखेका छन् ।