काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई गलत तत्वले उचालेका कारण त्यहाँ अस्थिरता बढेको बताएका छन् ।
काठमाडौंमा युवा संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेस आन्दोलनमा घुसपैठ भएको उल्लेख गर्दै मधेसी जनता गलत तत्वको उक्साहटमा परेको दाबी गरेका हुन् ।
‘नेपालको हित नचाहने प्रतिक्रियावादीहरु अहिले पनि सक्रिय छन् । संविधान ल्याउन नदिने खेलमा पनि उनीहरु लागेका थिए’, भावी प्रधानमन्त्रीका रुपमा हेरिएका अध्यक्ष ओलीले भने, ‘विश्वमै उत्कृष्ट संविधान पाउँदा पनि मधेसमा आन्दोलन भइरहेको छ । विभिन्न गलत तत्वको प्रभावमा मधेसी जनता परेका छन् । जनतालाई संविधान पढाउन सके यी समस्या टुंगिन्छन् ।’
अध्यक्ष ओलीले भारतले नेपालमा हस्तक्षेप गरी लगाएको नाकाबन्दी चाँडै खुल्ने बताउँदै नाकाबन्दी खुलाउनका लागि संवाद भइरहेको पनि स्पष्ट पारे ।
‘भारतले नेपालजस्तो भूपरिवेष्टित देशमा नाकाबन्दी गर्न पाउँदैन । पारवाहन सन्धिविपरित नाकाबन्दी गर्नु हुँदैन’, अध्यक्ष ओलीले भने, ‘समस्या निकालेको भारतले नै समाधान पनि निकाल्नुपर्छ । भारतले चाँडै नाका खुलाउँछ ।’
भारतको भन्दा लोकतान्त्रिक र अग्रगामी संविधान नेपालमा जारी भएको बताउँदै अध्यक्ष ओलीले यो कुरा बुझ्दा बुझ्दै पनि नेपालमा लगाएको नाकाबन्दी चाँडै खोलेर भारतले नेपालसँगको सम्बन्ध जीवन्त राख्न प्रयास गर्ने उल्लेख गरे ।
एकसातामै नयाँ सरकार
लामो समयदेखि दुई गुटमा विभाजित युवा संघको एकीकृत बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई घुमाउरो शैलीमा भावी प्रधानमन्त्रीकारुपमा प्रस्तुत गरेका थिए ।
अध्यक्ष ओलीले असोज २२ या २३ गते नयाँ सरकार गठन हुने बताउँदै सहमतिबाट भएपनि बहुमतबाट भएपनि आफ्नो नेतृत्वमा सरकार बन्ने संकेत गरे ।
‘सहमतीय भने पनि बहुमतीय भने पनि असोज २२ या २३ गते नयाँ सरकार आउँछ’, ओलीले भने, ‘नेपालको हित नचाहाने प्रतिक्रियावादी अहिले पनि नयाँ सरकारविरुद्ध लागेका छन् । तर, त्यसका बाबजुत सरकार आउँछ । चलखेलले फरक पर्दैन ।’