रुसले सिरियाको अनुरोध बमोजिम आफ्ना युद्धक विमानहरुले सिरियास्थित इस्लामिक स्टेट ठेगानाहरुमा हमला गरेको जनाएतापनि अमेरिकाले त्यस्तो कदमप्रति चिन्ता व्यक्त गरेको छ।
रुसी रक्षा मन्त्रालयले बुधबार उसका जेट विमानहरुले इस्लामिक स्टेट उग्रवादीहरुका ठेगानाहरुमा हमला गरेको जनाएको थियो।
तर राष्ट्रपति पुटिनले रुसले सिरियामा स्थल सैन्य नपठाउने बताए।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा बोल्दै रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले राष्ट्रपति बसर अल असदको सरकारको अनुरोधको जवाफमा रुसले त्यस्तो कदम चालेको बताए।
खतरनाक
यसैबीच संयुक्त राज्य अमेरिकाले अमेरिकी तथा रुसी सैन्यलाई अलग राख्ने कुनै संयन्त्र नबनाइएकाले त्यस्तो बम हमला खतरनाक हुनसक्ने जनाएको बताइएको छ।
अमेरिकी नेतृत्वको पश्चिमा गठवन्धनले गएको एक वर्ष भन्दा बढी समयदेखि सिरियास्थित इस्लामिक स्टेट लडाकुहरु विरुद्ध हवाइ कारवाही जारी राखेको छ।
तर रुसले सिरिया भित्र विद्रोहीहरुमाथि हमला शुरु गरेको यो पहिलो पटक हो।
आरोप
सिरियाका विपक्षी सूत्रहरुले रुसी हमलामा असद विरोधी विद्रोहीहरुलाई पनि निशाना बनाइएको आरोप लगाएका छन्।
उनीहरुले पश्चिमी शहर होम्स नजीकै गरिएको हमलामा अधिकांश केटाकेटी सहित कम्तीमा छत्तीसजनाको ज्यान गएको जनाएका छन्।
रुसले भने आफ्नो हमलामा सर्वसाधारणको पनि ज्यान गएको भन्ने समाचारहरु सही नभएको जनाएको छ।
राष्ट्रपति पुटिनको आग्रह बमोजिम विदेशमा गएर सैनिक कारवाही गर्न रुसी संसदको माथिल्लो सदनले अनुमति दिएको केही घन्टाभित्रै रुसी विमानहरुले सिरिया भित्र बम हमलाहरु गरेका थिए।