मधेसकेन्द्रित दलहरूसँगको गठबन्धन विपरीत कांग्रेस, एमालेलगायत तीन दलसँग १६ बुँदे सहमति गरी संविधान जारी गराउन अग्रणी भूमिका खेलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि संविधान बहिष्कार गरेका ती दलहरूप्रति नरम देखिएका छन्।
बुधबार भारतीय राजदूत रञ्जित रेसँग भएको भेटवार्तामा उनले त्यस्तो संकेत दिएका हुन्। राजदूत रे बुधबार बिहान दाहाललाई भेट्न उनकै निवास लाजिम्पाट पुगेका थिए।’महन्थ ठाकुरजीले ल्याएका पाँचवटा सर्त पूरा गरिदिन प्रधानमन्त्रीसँग कुरा गरिरहेको छु,’ दाहालले भने, ‘त्यसो भएमा औपचारिक वार्ता हुन्छ । आन्दोलनरत मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन गरेर अगाडि बढ्न बल गरिँदैछ।’
सामाजिक न्यायका लागि समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने, सीमांकनमा नमिलेका विषयलाई संघीय आयोगमार्फत मिलाउने, अहिलेका ७५ जिल्लामा एउटा क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयलाई समेटेर संविधानको पहिलो संशोधन गर्न तीन दलका शीर्ष नेता सहमत भएका छन्।
संविधान घोषणापछि गम्भीर चुनौती र संकटको सामना गरेका प्रमुख तीन दलका नेताहरूले नाकाबन्दी खुलाउन राजनीतिक र कूटनीतिक तहमा वार्ता गरिरहेका छन्। एमाओवादी अध्यक्ष दाहालले नाकाबन्दी खोल्न कूटनीतिक र राजनीतिक तहमा छलफल भइरहेको जानकारी दिए।
केही दिनअघि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग टेलिफोन वार्ता गरी नाकाबन्दी खुलाइदिन आग्रह गरेका थिए । नेपालमा बढेको भारतविरोधी मानसिकताप्रति भारतीय कूटनीतिज्ञले पनि चासो व्यक्त गर्न थालेका छन्।
तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गरिएको आठबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति, सेना फिर्ता, थुनामा रहेकाको रिहाइ भएमा वार्ताका लागि वातावरण बन्ने बताउँदै आएका छन्।
पछिल्लो समयमा मधेस केन्द्रित दलका नेताहरूले पनि वार्ताका लागि लचकता देखाएका छन्। नाकाबन्दी खुला गरिदिन आग्रह गर्ने तीन दलका शीर्ष नेतालाई राजदूत रेले दिने गरेको जबाफ उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘हाम्रो सीमा क्षेत्रमा भइरहेको आन्दोलनलाई छिटो वार्ता गरी आन्दोलनकारीका माग सम्बोधन गरिदिए अवस्थालाई सामान्य गर्न सजिलो हुन्थ्यो।’ ‘हामी एउटा चरणबाट अर्को चरणमा प्रवेश गरेका छौं।
महन्थ ठाकुरजीले ल्‍याएका पाँचवटा सर्त पूरा गरिदिन प्रधानमन्त्रीसँग कुरा गरिरहेको छु, संविधान संशोधन गरेर अगाडि बढ्‍न बल गरिँदैछ।
संविधानसभाबाट घोषणा गरिएको संविधानको रक्षाका निम्ति नयाँ अभियान थालनी गर्नुपर्छ,’ एमाओवादी प्रवक्ता दिनानाथ शर्माद्वारा लिखित ‘हिम फुलेको रात’ निबन्ध संग्रह बुधबार विमोचन गर्दै दाहालले भने, ‘तराईमधेसको समस्या वार्ताबाट छिटोभन्दा छिटो समाधान होस्। त्यसका लागि आज बिहान तीन बजेदेखि पाँच बजेसम्म पनि म त्यही अभियानमा रहें।’
यही बेला आफूले झन्डै तीन दशकदेखि सहकार्य गर्दै आएका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्दाको अवस्था र राष्ट्रमा उत्पन्न अप्ठ्यारोको चुनौती आफूमा आएको पनि दाहालले बताए। ‘संकटको बेला नै राजनीतिक सामाजिक मूल्यमान्यता स्थापित हुन्छन्,’ दाहालले भने। कूटनीतिक र राजनीतिक तहमा समस्या समाधानका लागि भइरहेका प्रयासका बारेमा आफूले अहिले नै बोल्न नमिने पनि उनले बताए।
‘राजनीतिका बारेमा अहिले नबोल्दा नै फाइदा हुन्छ। मैले बोल्ने बोलिसकें,’ दाहालले भने, ‘हाम्रो जीवनमा देशको परिस्थितिले उतारचढावपूर्ण अवस्था ल्याइदिएको छ।’