पूर्वको काकडभिट्टा–पानीटंकी सीमा नाकाबाट पछिल्लो तीन दिनदेखि ग्यास र पेट्रोलियम पदार्थको आयात शून्य छ । १२ असोजमा काँकडभिट्टा–पानीटंकी नाकाबाट १६ वटा मालबाहक ट्रक भित्रिएका छन् । जसमध्ये सबै भन्दा धेरै कुहिन लागेका आलु चारट्रक, प्याज दुई ट्रक र सडेको तरकारी एक ट्रक छ । त्यसैगरी सिमेन्ट निर्माणमा प्रयोग हुने क्लिंकर चार ट्रक, सिमेन्ट उद्योगकै लागि खरानी एक ट्रक, रेजिन दुईट्रक, चुना, कोइला, एकएक ट्रक रहेको मेची भन्सार काँकडभिट्टाले जनाएको छ ।

६ देखि ९ असोजसम्म पेट्रोलियम पदार्थ बोकका १३ वटा ट्यांकर नेपाल भित्रिए पनि ग्यासको बुलेट एउटा पनि आएको छैन । ९ गतेपछि भने पेट्रोल, डिजेल, मट्टीतेल पनि भित्रिएको छैन । जबकी भारतीय पक्षले भनेजस्तो काकडभिट्टा–पानीटंकी नाकामा मात्रै होइन झापा जिल्लामै धर्ना आन्दोलन छैन । १० असोजमा कोचिला ग्राबर फ्रन्टका दुई प्रदर्शनकारी सीमाको मेचीपुलमा प्रदर्शनगर्न खोज्दा समातिएपछि यहाँ सिमा शान्त छ । तर सिमापारी पानीटंकीस्थित भारतीय भन्सारबाट जाँचपास समेत भइसकेका सयौं मालबाहक गाडीहरु एसएसबीले रोकिरहेको छ ।

नेपालमा उत्पादन शून्य भएका पेट्रोलियमको आपूर्ति ठप्प पारेर भारतले हाहाकारको स्थिति सृजना गर्न खोजेको सीमास्थित अधिकारीहरुले बताएका छन् । “उनीहरु सडन लागेका सामान पठाइरहेका छन्” मेची भन्सारका एकजना अधिकृत दिपेन्द्र झा भन्छन्, “ग्यास र पेट्रोलियम रोकेर यहाँको स्थिति अरु बिगार्ने योजना बुझिन्छ ।