काठमाडौं : मधेसी दलहरु भोलिदेखि वार्तामा बस्ने भएका छन् । मधेसी दलहरु आज दिनभर आन्तरिक छलफल र गृहकार्यमा व्यस्त छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरलगायतसँग भेट गरी सरकारसँगको वार्ताको तयारी र रणनीतबारे छलफल गरेका छन् ।
सरकार र आन्दोलनकारी मधेस केन्द्रित दलहरुबीच वार्ताको वातावरण बनाउन गच्छदार सक्रिय देखिएका छन्। उनले मधेस केन्‍द्रित दलका नेताहरु र तीन दलका नेताहरुसँग अलगअलग भेटवार्ता गरेर वार्ता वातावरण बनाउन कोसिस गरिरहेका छन्।
वार्ताको तयारी तथा एजेन्डाबारे छलफल गर्न मंगलबार अपरान्ह मधेस केन्द्रित  दलहरुको बैठक सिंहदरबारमा बस्दैछ । यसको निर्णयका आधारमा भोलिदेखि वार्तामा बस्ने गच्छदारले बताएका छन्। सरकारले मधेस केन्द्रित दलहरुसँग वार्ता गर्न तीन दलका नेताहरु सम्मिलित कार्यदल गठन गरिसकेको छ । कार्यदल पनि आन्तरिक छलफल र गृहकार्यमा व्यस्त छ।