भारतीय भन्सार कार्यालय र सुरक्षाकर्मीले रूपैडिया नेपालगन्ज नाका हुँदै नेपालतर्फ आउन लागेका पेट्रोलियम पदार्थको आयात रोकेका छन्।

नेपाल प्रवेशका लागि  रूपैडिया नाकामा आइपुगेका ग्यास, तथा पेट्रोलियम पदार्थ बोकेका ४७ वटा ट्रयाङकरहरुलाई सीमावर्ति रूपैडिया नाकामा शुक्रबार बिहानैदेखि रोकिदिएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले बताए।

रुपैडिया नाकामा पेट्रोलियम पदार्थ बोकेका ट्रयाङकरहरू रोकिए पछि बाँकेका प्रजिअ लेखकले भारतको बहराइच जिल्लाका डिएमसँग टेलिफोनमा कुराकानी समेत गरेका थिए।

बहराइच जिल्लाका डिएमले हाम्रो तर्फबाट पेट्रोलियम पदार्थ बोकेका ट्रयाङकरहरु रोक्ने कुनै आदेश नभएको भन्दै भन्सार अधिकारीसँग कुरा गरेर ट्रयाङकरहरु छुटाइदिने बताए पनि ट्रयाङकरहरु नछुटेको प्रजिअ लेखकले बताए।

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले भारतबाट नेपाल आउदै गरेका ट्रयाङकर रोकिदिएका हुन्। एलपी ग्यासका १७ र ३० वटा पेट्रोलियम पदार्थ बोकेका ट्रयाङकरहरुलाई सीमावर्ती रूपैडिया नाकामै रोकिएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख श्रीचन्द्र श्रेष्ठले जानकारी दिए।

नेपालगन्ज नाका हुँदै  हिजो ७ वटा मात्रै पेट्रोलिय पदार्थका गाडीहरू नेपाल भित्रिएका थिए। भारतीय भन्सारबाट पास भई सकेका ६ वटा गाडीसमेत भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले रोकिदिएको  ट्रयाङकर चालकहरुले बताए।

दैनिक १ सय ५० देखि २ सयसम्म  माल सामान सहितका गाडीहरू नेपाल भित्रिने गरेकोमा भारतीय सुरक्षाकर्मीहरुको अवरोधका कारण बिहिबार साँझ ६ बजे खसी बोका तरकारी बोकेका २७ वटा मात्रै  माल बाहक सबारी साधन नेपाल भित्रिएका छन्।

एसएसबीका सुरक्षाकर्मीहरुले अर्को आदेश नआउँदासम्म भन्सार पास नगरिदिनु भनेर रोकेका कारण पेट्रोलिय पदार्थका गाडीहरू भारतको रुपैडियामै रोकिएको भारतको रुपैडियास्थित भन्सार कार्यालयले जनाएको छ।