काठमाडौँ : मधेसी दलहरुले तरार्इ-मधेसमा हिंसात्मक घटना र सीमाना नाकाबन्दी रोकेमा तीन दल उनीहरुसँग वार्तामा बस्ने भएका छन् ।

संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई बन्द हडताल र बल प्रयोग बन्द गरेर वार्तामा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले पुनः आह्वान गर्ने भएका हुन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराई-मधेसमा जारी आन्दोलनको समीक्षा गरेको थियो ।

बैठकले असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गरी सहमतिका लागि खाका बनाइने बैठकमा सहभागी कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले आजै दिउँसो साढे दुर्इ बजे बस्ने अर्को बैठकमा सोबारे छलफल हुने जानकारी दिएका छन् ।

एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नाकाबन्दी र हिंसात्मक घटना रोकेर आएमा मधेसी दलहरुसँग वार्ता गर्न सकिने बताइन् । उनले हिंसा र नाकाबन्दी रोकेर जनजीवन सामान्य बनाउन आह्वान गर्ने कुरा भएको बताइन् ।

‘राजमार्ग अवरुद्ध गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा तहसनहस गर्ने, फरक विचारका नेता, सभासद् र कार्यकर्ताका घरमा आक्रमण गरी हिंसा भड्काउने काम बन्द हुनुपर्छ’, उनले भनिन्, ‘शान्तिपूर्ण कार्यक्रम गरेर आएमा मधेसी दलसँग वार्तामा बस्न सकिन्छ ।’

वार्ताका लागि ढोका सधैँ खुल्ला रहेको जनाउँदै उनले हिंसात्मक गतिविधि गरी राजमार्ग बन्द गर्नेहरुसँग वार्ता गर्न नसकिने बताइन् ।

संविधानको पहिलो मस्यौदा आएदेखि नै तराईका विभिन्न जिल्लामा गत ३९ दिनदेखि बन्द हडताल जारी छ । रासस