झापा : मेची भन्सार कार्यालयमा भारतीय पक्षले अघोषित नाकाबन्दी गरेको छ । नेपालतर्फ छिर्ने सयौं कन्टेनरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विनाकारण रोकेर अघोषित नाकाबन्दी गरेको हो ।

एक दिनमा सरदर एक सयवटासम्म कन्टेनर भित्रने काकरभिट्टास्थित मेची भन्सार कार्यालयमा बिहीबार चारवटा भारतीय र दुईवटा नेपाली कन्टेनरमात्र भित्रिएका छन् ।

भारततर्फको कस्टमबाट जाँच पास गरेर कन्टेर आउन दिइएपनि एसएसबीले जबरजस्ती रोकेको हो ।

मेची भन्सार कार्यालयका अनुसार एसएसबीले सुरक्षा जाँचका नामा बिनाकारण रोकेपछि सयौं कन्टेर भारततर्फ नै थन्किएका छन् ।

बुधबारमात्रै मेची भन्सार कार्यालयमा ८६ वटा कन्टेनर आएका थिए । जसमा ८४ वटा भारतीय र २ वटा नेपाली कन्टेर मेची भन्सार आइपुगेका मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले जानकारी दिए ।

‘पारीबाट चेकजाँच गर्ने नाममा कडाइ गरेपछि कन्टेनरहरु सीमा काट्नै पाएका छैनन्’, प्रमुख भन्सार अधिकृत अधिकारीले भने, ‘मेची भन्सारमा अहिलेसम्म ६ वटामात्र कन्टेर भित्रिएका छन् ।’

भारतीय पक्षको यो गतिविधिलाई स्थानीयबासी तथा मेचाी भन्सार कार्यालयका कर्मचारीले अघोषित नाकाबन्दीकारुपमा लिएका छन् ।