काठमाडौं : संविधान जारी भएपछि भारतले नेपालमा गरेको हस्तक्षेपविरुद्ध युवाहरुले बुधबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।

‘ब्याक अफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका  दुई सयजना युवाहरु भृकुटीमण्डपस्थित सडकमा उत्रेका हुन् ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरेर भारतले आफ्नै लागि खतरा मोलेको बताए ।

‘हाम्रो संविधान मान्ने नमान्नेमा हामी स्वतन्त्र छौं, यो हाम्रो अन्तरिक मामिला हो’, उनले भने ‘कुनै पनि बहानमा हामी भारतीय हस्तक्षेप स्विकार्दैनौं ।’

एमाओवादीका युवा नेता जागृत रायमाझीले राष्ट्रियताको रक्षा गर्न आवश्यक परे नेपाली युवाहरु युद्ध लड्न तयार रहेको चेतावनी दिए ।

उनले वर्षौं अमेरिकी नाकाबन्दीमा परेको भियतनामाबाट सिकेर राष्ट्रिय प्रतिरोध युद्धको तयारी र अर्को मुलुक क्युवाबाट सिकेर आत्मनिर्भर हुने अर्थतन्त्र बनाउन लाग्नुपर्नेमा जोड दिए ।

रायमाझीले नेपाल आफ्नो खुट्टामा नउभिएसम्म भारतीय दादागिरी सहिरहनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर हुनुको विकल्प नरहेकोमा जोड दिड दिए

रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले भारतीय हस्तक्षेपविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला भइसकेकोमा जोड दिए ।

एमाओवादी निकट अखिल क्रान्तिकारीका नेता रञ्जीत तामाङले शरीरमा थोपा रगत बाँकी हुन्जेल राष्ट्रियताको लडाइँ लड्न तयार रहेको उल्लेख गरे ।

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतले राष्ट्रिय अस्मिता संकटमा पर्दा विचार आस्था फरक भएपनि एक भएर लड्न तयार हुनुपर्नेमा जोड दिए ।