काठमाडौं : नेपालमा जारी भएको नयाँ संविधानमा असन्तुष्टी जनाउँदै भारतले दिएको नाकाबन्दीको धम्की तथा तराई मधेस आन्दोलनलाई सम्बोधन गर्ने विषयमा बालुवाटारमा तीन दलको शीर्ष बैठक बसेको छ।
भारतीय पक्षले देखाएको प्रतिक्रिया र व्यवहारको समीक्षा गर्दै कस्तो जवाफ दिने भन्ने बारेमा छलफल हुँदैछ । त्यसैगरी मधेसी तथा थारुले उठाका माग तथा विषयलाई सम्बोधन तथा प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणलगायतका विषयमा पनि छलफल हुँदैछ। बुधबार प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणमा जाने भएकोले दलहरु आजै निश्कर्षमा पुग्ने कोसिस गर्दैछन्।
भारतीय प्रतिक्रिया, तराई मधेसमा भइरहेको आन्दोलन यसबारेमा तीन दलले आजै धारण सार्वजनिक गर्ने तयारीमा छन्। भारतीय पक्षले मुख्य नाकाहरुमा गरेको अस्वभाविक कडाइ र वीरगञ्जमा मालबाहक गाडी तथा तेल बोकेका ट्यांकरहरुलाई रोकेको विषयलाई तीन दलले गम्भीर रुपमा लिएका छन् ।
तीन दलका तीनै शीर्ष नेताहरु मंगलबार दिउँसो मधेसी जनअधिकार फोरम लोकतान्त्रिककका अध्यक्ष विजयकुमार गच्छदारसँग पार्टी कार्यलय सानेपा पुगेर वार्ता गरेका थिए। त्यसअघि प्रधानमन्त्री सुशील कोइराला तमलोपाको कार्यलय पुगेर महन्थ ठाकूरसँग वार्ता गरेका थिए।