काठमाडौं : नयाँ संविधान जारी भए लगत्तै भारतले नेपालप्रति देखाएको व्यवहार र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा व्यापक आलोचना भएको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले छिमेकी मुलुकमा संविधान बन्दा भारतले देखाएको व्यवहार र प्रतिक्रियाको कडा निन्दा गरेका छन् । आइतबार नयाँ संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले दुईवटा विज्ञप्ती निकालेर आक्रोश पोखेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता भारतविरुद्ध खन्निएका हुन् ।

भारतले सोमबार राति नाकाबन्दी समेत गर्ने धम्कीपूर्ण भाषाको विज्ञप्ती निकालेपछि विश्वकै दोस्रो लोकप्रिय सामाजिक ट्वीटरको #BackOffIndia ट्रेन्डिङ एक दिनमै विश्वव्यापी भएको छ ।

यो ह्यासट्यागसहित भारतविरुद्ध आक्रोश पोख्दै सोमबार रातिबाट भारतविरुद्ध शुरु भएको ट्वीट मंगलबार मध्यान्हसम्ममा विश्वभर प्रयोग भइरहको छ ।

ट्वीटरको ट्रेन्डिङमा#BackOffIndiaमंगलबार दिउँसो एक नम्बरमा आइसकेको छ।

तराई मधेसको बहानामा नेपालमाथि नाकाबन्दी लाउन सक्ने आशयकको धम्कीसहितको विज्ञप्ती भारतले निकालेपछि अहिले #BackOffIndia ट्रेन्डिङमार्फ अन्य देशका नागरिकले पनि भारतविरद्ध आक्रोश पोख्न थालेका छन् ।

यो ट्रेन्डिङबाट नेपाल, पाकिस्ता, फिलिपिन्स, अमेरिका, अस्ट्रेलिया, फिन्ल्यान्ड र टर्कीबाटसमेत ट्वीट भइरहेको छ ।

छिमेकीको संविधान बन्दा स्वागत गर्नुको साटो सीमानाका बन्द गर्ने भारतीय चेतावनीपछि सामाजिक सञ्जालमा युद्ध छेडिएको हो ।

सोमबार मध्यान्ह काठमााडौंको टुँडीखेलमा भएको संविधान स्वागत कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु भारतको एस म्यान नबन्ने कडा टिप्पणी गरेपछि भारत झनै रिसाएको थियो ।

प्रचण्डको भाषणको केही घण्टाअघि उनैलाई भेटेर दिल्ली उडेका राजदूत रञ्जीत रे भारत पुगेकै साँझ उसको आक्रोशयुक्त वक्तब्य आएपछि सामाजिक सञ्जालका प्रयोगकर्ता भारतविरुद्ध खन्निएका हुन् ।

#BackOffIndia ट्रेन्डिङमार्फत अहिलेसम्म लाखौं ट्वीटर र रि–ट्वीट भइसकेका छन् । ट्वीटरका प्रयोगकर्ताले भारतलाई चेतावनी दिँदै नेपाललाई उपनिवेश नठान्न भनेका हुन् । पाकिस्तानमा समेत यो ट्रेन्डिङ खुबै चर्चित भएको छ ।

फेसबुकमा समेत यही ह्यासट्याग प्रयोग गरेर भारतको पछिल्लो अभिव्यक्तिको विरोध गरिएको छ । फेसबुकमा भारतको धम्कीले केही फरक नपर्ने बताउँदै चीनसँगका सबै नाका खोलेर भारतसँगको व्यापार घाटा कम गर्नुपर्ने आवाज उठाइएको छ ।

यही ट्रेन्डिङ प्रयोग गर्दै उदय जीएम लेख्छन्, ‘तिमीं नेपाल आउँदा अभिभावक जस्तो लाग्याथ्यो, यस पटक तिमी किन नाङ्गियौ ?’

त्यसैगरी रोमन भट्टराई लेख्छन्, ‘जसरी प्रचण्डले बाबुरामलाई ३० वर्षदेखि झेल्दै आएका छन्, त्यसैगरी सयौं वर्षदेखि भारतलाई हामी झेल्दै आएका छौं । अब अत्ति भो ।’

तक्मेले झनै कडा टिप्पणी गरेका छन् । ‘नुन नखाउँला भारतको, सिस्नु खाएर बाँचौला, भारतबाट आयात गरेको मोटरसाइकल, कार छाडेर पैदल हिँडौला तर भारतीय हस्तक्षेप सहिँदैन ।’

नरेन्द्र मोदीबारे सुमनको टिप्पणी उस्तै घतलाग्दो छ । ‘भारतले यस्तै व्यवहार देखाउन थाल्यो भने…अर्को पटक पशुपति दर्शन गर्न आउँदा पशुपतिनाथले मोदीलार्इ त्रिशुल लिएर गौशालाको गल्ली गल्लीमा खेदाउँछन’ सुमनले ट्वीट गरेका छन् ।

त्यसैगरी बे्रन्डडन लेख्छन्, …एउटा गुलामले उ धनी भयो भने उसको ठुलो सपना भनेको नै २, ४ वटा नोकर राख्ने हुन्छ रे। भारत अझै तेही धंगधंगीबाट बाहिर निस्किन सकेको छैन।’