संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आईतवार महोतरीमा संविधानको विरोधमा कालो झण्डासहित मोटरसाईकल र्‍याली गरिएको छ।  मधेसको मुद्दा थाती राखेर संविधान जारी गर्न लागेको भन्दै संयुक्त मधेसी मोर्चा महोतरीले कालोझण्डा सहित विरोध रयाली निकालिएको हो।
ठूलो संख्यामा कालो झण्डा बोकी गाउँ गाउँबाट  सयौं मोटरसाईकलमा  आएका प्रदर्शनकारीहरुले निधार र मुखमा कालोपट्टी बाँधेर तथा हात हातमा कालो झण्डा बोकेर सदरमुकाम जलेश्वर, बनैटा, रामगोपालपुर, मोल्हुवाबगेवा, डाम्हीमडै, गौशाला, औरही, रामगोपालपुर लगायतका गाउको परिक्रमा गरि विरोध प्रर्दशन गरेका थिए।
मोटरसाईकल र्‍यालीमा प्रदर्शकारीहरुले विर शहिद अमर रहे, मधेशी एकता जिन्दाबाद, प्रहरी प्रशासन मुर्दाबाद, मधेश विरोधी सरकार मुर्दाबाद लगायतका नाराहरु पनि लगाएका थिए।
स्थानीय प्रशासनले निषेधित क्षेत्रमा विरोधसभा गर्न निषेध गरिएकाले मोटरसाईकल रयालीलाई बजारक्षेत्र प्रवेशमा रोक लगाएको जनाएको छ।
यता महोतरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार मधेशमा जारी अनिश्चितकालिन बन्दको बेला देशमा नयाँ संविधान जारी भइरहेकोले संभावित अप्रिय घटनालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयदेखि उत्तरमा रेडक्रस, दक्षिणमा खैराचौक, पूर्वमा ट्राफिक कार्यालय, पश्चिममा साहुजीपट्टी जाने बाटो र जिल्ला प्रहरीको उत्तरमा दुर्गाचौक, दक्षिणमा अस्पतालचौक, पूर्वमा हनुमान मन्दिर र पश्चिममा महोत्तरी जिल्ला अदालत र कारागार पारीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।
आफूहरुले शान्तिपूर्ण रुपमा कालो दिन मनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका राम नरेश यादवले बताए ।उनका अनुसार मधेसको माग थाती राखेर जारी हुन लागेको संविधान जनताको हित र समग्र मधेसीको अपमान भएकाले त्यसलाई नमान्ने बताए।मधेसीको अधिकार माग्दा सरकार दमनमा उत्रेकोले यो संविधानको बिरोधमा लागेको यादवले बताए।