३ असोज, काठमाडौं । संविधान हर्षोल्लाससाथ जारी तयारी भइरहेका बेला सरकारले प्रक्रियाप्रति असन्तुष्टि जनाएका सभासद् र मधेसकेन्द्रित दलहरूलाई फकाउने अन्तिम प्रयास गरेको छ।
राष्ट्रपति डा.रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभामा हुने औपचारिक कार्यक्रममार्फत संविधान लागू भएको घोषणा गर्नेछन्। नयाँ संविधान लागू भएसँगै ०६३ सालदेखि क्रियाशील अन्तरिम संविधान स्वतः खारेज हुनेछ।
संविधानसभाको अन्तिम बैठकमा राष्ट्रपतिले बोलेपछि संविधानको प्रतिमा हस्ताक्षर गरी लागू भएको घोषणा गर्नेछन्। घोषणासभामा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र विघटित संविधानसभाका सदस्यलाई पनि आमन्त्रण गरिएको छ।
शनिबार संविधानसभा बेहुलीझैँ सिँगारिएको छ । व्यवस्थापिका–संसद्को बैठक भएकाले संविधानसभा भवनको भित्री भाग भने आइतबार बिहान मात्रै सजाउने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । भवनको अग्रभागमा रहेका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको झन्डा फहराइएको छ ।

भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा सजाइएका छन् । अतिथि आउने–जाने बाटोमा गमलामा रंगीचंगी फूल राखिएका छन् । बाह्य सजावटको सम्पूर्ण काम नेपाली सेनाले गरेको हो । भवनभित्रको सजावट सचिवालयको संयोजनमा त्यहाँका कर्मचारीले गर्नेछन् ।

समारोहका क्रममा संविधानसभा भवनको ठीकअघि पानीको फोहोरा चलाइनेछ । संविधान जारी गर्न कारगेडमा आउने राष्ट्रपति रामवरण यादवलाई विशेष सम्मानका साथ संविधानसभा भवनभित्र लैजाने र ल्याउने रिहर्सल शनिबार बेलुका नै सम्पन्न भइसकेको छ ।

रंगीचंगी हलको अग्रभागमा रहेको रोस्ट्रममा सभाध्यक्ष नेम्वाङ, उनको दाहिनेपट्टि उही आकार, रङ र आकृतिको अर्को कुर्सीमा राष्ट्रपति यादव बस्नेछन् । सँगै महासचिव मनोहरप्रसाद भट्टराई र केही कर्मचारी बस्ने व्यवस्था गरिएको छ ।

उपराष्ट्रपति परमानन्द झालाई भने विशेष कुर्सीका साथ हलको बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था छ । आमन्त्रित कूटनीतिक नियोगका अधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पत्रकारलाई बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था गरिएको छ भने अन्य अतिथि त्यसभन्दा पछाडि बस्नेछन् । नेपालमा रहेका विभिन्न देशका राजदूतसहित अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिलाई समारोहमा निमन्त्रण गरिएको छ ।