संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले असोज ३ गते चार बजेसम्म संविधानमा हस्ताक्षर गर्न बाँकी रहेका असन्तुष्ट दलका सभासद्हरुले नयाँ संविधानमा हस्ताक्षर गरेर आफ्नो सहभागिता जनाउन सक्ने भएका छन्।
नयाँ संविधानमा असन्तुष्ट रहेका वा छुटेका दलहरुलाई पनि समेट्ने उद्देश्यअनुरुप सभाध्यक्षले भोलिसम्म हस्ताक्षरका लागि नयाँ संविधानका प्रतिहरु खुल्लै राख्ने बताएका छन् ।

नेम्वाङले भने, ‘तपाईहरु कुनै बेला संविधानसभा सचिवालयमा आएर नयाँ संविधानमा हस्ताक्षर गर्नसक्नुहुनेछ । भोलि राष्ट्रपतिले अन्तिमका हस्ताक्षर गरे घोषणा गर्नुअघिसम्म त्यो अवसर छ ।’

प्रकियामा सहभागी भएका सबै सभासद्ले हस्ताक्षर गरिसकेपछि सभाध्यक्षले पनि शुक्रबार नै संविधानलाई प्रमाणीकरण गरेका थिए ।

तर असन्तुष्ट दलहरुलाई अन्तिम अवसर दिनका लागि आइतबार चार बजेसम्म हस्ताक्षर गर्न पाउने व्यवस्था मिलाइएको हो । आइतबार बेलुका पाँच बजे नयाँ संविधान राष्ट्रपतिले घोषणा गर्ने कार्यक्रम छ।

‘संविधान युगमा एकपटक बन्ने हो। त्यसैले यसमा कोही छुट्नु हुँदैन । यो अन्तिम अवसरलाई असन्तुष्ट दलहरुले सदुपयोग गर्ने विश्वास मलाई छ ।

उहाँहरुका मुद्दामा हामी बसेर छलफल गर्न र समाधान खोज्न सक्छौं । संविधान जारी भएपछि सबै सकिने होइन, नेम्वाङले भने, ‘संविधान जारी भएपछि पनि संविधान संशोधन गरेर हामीले मधेस, थारु जनजाती तथा अन्य समस्यालाई सम्बोधन गर्नसक्छौं र गर्नुपर्छ ।’