२ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले पारित भइसकेको संविधान कार्यान्वयन ढिला गर्न दिएको दबाबलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले अस्वीकार गरेका छन्।

जयशंकरले आफ्नो मुलुकको सीमा जोडिएको तराई–मधेसमा आन्दोलन चर्किंदा सुरक्षा खतरा भएको निहुँ गर्दै आइतबार जारी गर्न तयार भएको संविधान स्थगन गर्न भनेका थिए।

संविधान जारी हुनुभन्दा दुई दिनअघि मोदीको सन्देश लिएर आएका जयशंकरले आन्दोलनरत मधेसकेन्द्रित दल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे यसको प्रभाव मुखैमा आएको बिहारको चुनावमा असर पर्न सक्नेतर्फ सचेत गराएका थिए। उनले बिहार निर्वाचन सम्पन्न भएपछि मात्र संविधान जारी गरिदिँदा राम्रो हुने आशय परोक्ष रूपमा व्यक्त गरेका थिए।

बिहान ९ बजे काठमाडौं आइपुगेका जयशंकरले लगत्तै राष्ट्रपति यादव, प्रधानमन्त्री कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटघाट गरेका थिए।

राष्ट्रपति यादव, प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहाललाई उनले निवासमै पुगेर भेटेका थिए भने मधेसकेन्द्रित दलका नेताले लैनचौरस्थित भारतीय दूतावासमा गई सचिव जयशंकरसँग भेटवार्ता गरेका थिए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भारतीय विदेश सचिवलाई भेट्न भारतीय दूतावास पुगेका थिए।

सचिवले काठमाडौं आएलगत्तै सुरुमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि उनले मधेसकेन्द्रित दलका नेतासँग छलफल गरेका थिए।

मधेसकेन्द्रित दलका नेतासँगको कुराकानीपछि उनले शीतलनिवासमा राष्ट्रपति यादवसँग शिष्टाचार भेट गरे। शीतलनिवासबाट उनी एकीकृत माओवादी अध्यक्ष दाहाललाई भेट्न लाजिम्पाट पुगेका थिए। अन्तमा उनले प्रधानमन्त्री कोइरालासँग भेट गरेका थिए।

भ्रमण पूरा गरी जयशंकर शनिबार बिहान १० बजे स्वदेश फर्कने तय भएको छ। उनले आन्दोलनरत मधेसकेन्द्रित दलले गरेको आन्दोलनबारे प्रश्न उठाए पनि त्यसलाई कसरी समाधान गर्ने भन्ने कुनै सूत्र प्रस्तुत गर्न नसकेको शीर्ष नेतानिकट उच्च स्रोतले बतायो।