काठमाडौं। तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्यु स्थानीय प्रशासनले खुकुलो पार्दै लगेको छ । जनजीवन सहज बनाउन स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै लगेको हो ।

भदौ १४ गतेदेखि कर्फ्यु लाग्दै आएको वीरगन्जमा बिहीबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ । वीरगन्जमा दंगाग्रस्त क्षेत्र भने कायमै छ ।

९ दिनदेखि कर्फ्युलाग्दै आएको महोत्तरी सदरमुकाम जलेश्वरमा पनि स्थानीय प्रशासनले बिहीबार बिहान ६ देखि १ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ ।

उता, कैलालीको धनगढी र टीकापुरमा स्थानीय प्रशासनले बिहीबार कर्फ्यु जारी गरेको छ । धनगढीमा दिउँसो १२ देखि ३ बजेसम्म कर्फ्यु जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १२ सम्म कर्फ्यु खुकुलो पारिएको छ ।

उता सिरहामा स्थानीय प्रशासनले कर्फ्यु हटाए पनि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि दंगाग्रस्त क्षेत्र कायमै राखेको छ ।

स्थानीय प्रशासनले कैलालीको धनगढीमा ८ गतेदेखि र टीकापुरमा ७ गतेदेखि लगातार कर्फ्यु लगाउँदै आएको छ ।

यसैबीच ३८ दिनदेखि नवलपरासीको सदरमुकाम परासीसहित दक्षिणी भेग ठप्प छ । मधेस केन्द्रीत दलको बन्दका कारण यातायात नचल्दा तथा स्थानीय प्रशासनले निषेधाज्ञा नहटाउंँदा जिल्लाको जनजीवन प्रभावित बनेको हो ।