काठमाडौ । नयाँ संविधान जारी गर्न संविधानसभामा मंगलबार पनि बिहानैदेखि मतदान भइरहेको छ।संविधानका धाराहरु धमाधम पारित भइरहेका छन्।

धारा ७०ः राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने यसमा रुम्किणी चौधरीको संशोधन संविधानसभाले अस्वीकृत गरेको छ । संविधानसभाले यो धारालाई संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ ।

धारा ७१, ७२ र ७३ मा कुनै संशोधन परेको छैन । यो धारालाई संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ । धारा ७४ः शासकीय स्वरुप यसमा प्रध्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको माग गर्दै परेको संशोधन संविधानसभाले अस्वीकृत गरेको छ । संविधानसभाले संसदीय व्यवस्थालाई पास गरेको छ ।

धारा ७५: कार्यकारी अधिकार नेमकिपाका सभासद डिल्ली काफ्लेले कार्यकारी अधिकार राष्ट्रपतिमा रहनु पर्ने भन्दै राखेको संशोधन संविधानसभाले अस्वीकृत गरेको छ ।

धारा ७६: मन्त्रिपरिषद गठन राप्रपा नेपालका कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा राखेको संशोधन संविधानसभाले अस्वीकृत गरेको छ । श्याम श्रेष्ठले संशोधन फिर्ता लिएका छन् । डिल्लीप्रसाद काफ्लेले राष्ट्रपतिले बुद्धिजिवी र विज्ञहरुको मन्त्रीमण्डल बनाउने प्रस्ताव राखेका थिए । यसलाई पनि संविधानसभाले अस्वीकृत गरेको छ ।

सभासद हरिचरण साहले जातीय, क्षेत्रीय र लिङ्गयि गरी सामाजिक न्याय अवलम्बन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्तमा थप गर्ने संशोधन संविधानसभाले अस्वीकृत गरेको छ । लगतै साहले मत विभाजनको माग गरे । सभाध्यक्षले ठ्याक्कै मत विभाजन चाहेको हो भनेर प्रश्न गरेपछि हलमा हाासोको फोहोरा छुटेको थियो । साहको प्रस्तावको पक्षमा मात्र ६ जना सभासद मात्र भएपछि मत विभाजन गर्नु परेन ।

धारा ७७: प्रधानमन्त्री तथा मन्त्रीको पदको रिक्त हुने अवस्था यसमा श्याम श्रेष्ठले संशोधन फिर्ता लिएका छन् भने डिल्लीप्रसाद काफ्लेको संशोधन बहुमतले अस्वीकृत भएको छ ।

यसमा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले स्वीकृत भएको छ । तीन दलको संशोधनमा उपधारा १ को “-ख) को सट्टा धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरूद्ध अविश्वासको प्रस्ताव पारित भएमा,” राख्ने उल्लेख छ ।

धारा ७८: संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने यसमा डिल्ली काफ्लेले राखेको संशोधन अस्वीकृत भएको छ भने कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले स्वीकृत भएको छ । तीन दलको संशोधनमा “धारा ७६” भन्ने शब्दको सट्टा “धारा ७६ को उपधारा (९)” भन्ने शब्दहरु राख्ने भन्ने छ ।

धारा ७९: प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा यसमा सभासद श्याम श्रेष्ठले राखेको संशोधन फिर्ता लिएको छ । डिल्ली काफ्लेले राखेको संशोधन अस्वीकृत भएको छ ।

धारा ८०: शपथ यसमा डिल्ली काफ्लेले राखेको संशोधन अस्वीकृत भएको छ ।

धारा ८१: राष्ट्रपतिलाई जानकारी दिने यसमा डिल्ली काफ्लेले राखेको संशोधन अस्वीकृत भएको छ ।

धारा ८२: नेपाल सरकारको कार्य सञ्चालन यसमा कुनै संशोधन परेको छैन । यो धारालाई परिमार्जित विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।

धारा ८३: संघीय व्यवस्थापिका यसमा सभासद श्याम श्रेष्ठले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

धारा ८४: प्रतिनिधि सभा गठन एमएमपीआरका आधारमा चुनाव हुनु पर्ने र प्रत्याहृवानको बन्दोबस्त हुनु पर्ने भन्दै सभासद डिल्लीप्रसाद काफ्लेले राखेको संशोधन अस्वीकृत भएको छ ।

प्रत्यक्षतर्फ ४० सिट महिलाका लागि चक्रिय सिद्धान्त अनुसार सुनिश्तिच गर्न माग गर्दै सभासद कुन्तीकुमारी शाहीले राखेको संशोधन पनि अस्वीकृत भएको छ ।