काठमाडौ । नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९२ मा नयाँ संविधान जारी भएको एक साता भित्रै चालु संसद्‍बाट नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।
असोज ३ गते संविधान घोषणा र जारी हुने भएकोले असोज १० सम्म नयाँ सरकार गठन हुने छ।संसद् अधिवेशन पनि चालु रहेकोले छिटै प्रधानमन्त्री चयन हुन लागेको हो। संसद् चालु नरहेको भए संसद् अधिवेशन डाकेर प्रधानमन्त्री चयन केही ढिलो हुन्थ्यो।
२०७० माघ २६ गतेको सातबुँदे सहमतिमा संविधान निर्माण भएपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्ने र एमाले अध्यक्ष  ओलीले सरकारको नेतृत्व लिने  स्पष्ट उल्लेख छ। स‌ंविधान निर्माणको क्रममा १६ बुँदेदेखि एक ठाउँमा रहेका मुख्य चार दलहरुबीच पनि यसमा सहमति भइसकेको छ।
एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति र सभामुखको चयन गर्नुपर्ने व्यवस्था छ। कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको पदावधि सकिने छ। मुलुकले नयाँ राष्ट्रपति पाउने छ।