२८ भदौ, काठमाडौं । दुई दिन संविधानसभाको प्रक्रिया रोक्दा पनि मधेसी दल वार्ताका लागि गम्भिर नभएपछि प्रमुख तीन दलले संविधान पारित गर्ने प्रक्रिया अघि बढाएका छन् । मधेसी दलहरुले प्रक्रिया रोक्नुपर्ने माग राखेका कारण त्यसका लागि माहौल बनाउँदै गत शुक्रबार प्रमुख दलहरुको आग्रहमा संविधानसभाको प्रक्रिया दुई दिन स्थगन नै गरियो ।
तर दुई दिनको बीचमा मधेसी दल नेताहरुले वार्ताबारे गम्भिर पहल नभएको भन्दै छलफलमै आउन चाहेनन् । यसबीचमा पछिल्लो समयमा प्रक्रियाबाट बाहिरिएको फोरम लोकतान्त्रिकसँंग मात्र तीन दलका नेताहरुले एकपटक छलफल गरे ।
उक्त छलफलमा गच्छदारले पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमको कैलालीको विवाद संघीय आयोगको सिफारिसमा टुंग्याउने गरी अघि बढ्न प्रस्ताव गरेका थिए । गच्छदारको प्रस्तावमा तीन दल सहमत हुन सकेनन् । अन्य मधेसी दलहरुलाई औपचारिक र अनौपचारिक रुपमा पटक पटक दलहरुले वार्ताका लागि आह्वान गरेका थिए ।
प्रधानमन्त्रीले लिखित पत्राचार नै गरेका थिए । त्यसबाट पनि मधेसी दलले चित्त नबुझाएपछि तीन दलका नेताले संयुक्त रुपमा आह्वान गरेका थिए । दुइपटक पत्राचार र माग अनुसार दुई दिन प्रक्रिया स्थगन गर्दा पनि वार्ताका लागि सकारात्मक सन्देश नपाएपछि आइतबार बिहान तीन दलबीच प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
साढे ११ बजेका लागि बोलाएको बैठक झण्डै दुई बजे सुुरु भएको थियो । पहिलो बैठकमा प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेल बोलेपछि मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले जवाफ दिएका थिए ।
त्यसपछि दोस्रो बैठक बस्न अगाडी प्रमुख तीन दलले आफ्ना सभासद्हरुले राखेका छुट्टै संशोधन प्रस्ताव फिर्ता लिन लगाएका थिए । संशोधन प्रस्ताव फिर्ता लिए प्रक्रिया छोट्टिने भएकाले उनीहरुले संशोधन राख्ने सभासद्हरुलाई मनाउने प्रयास गरेका थिए । मुख्य दलका सांसदहरुले संशोधन फिर्ता लिएपछि संविधान पारित हुने प्रक्रिया आरम्भ भएको हो । संविधान पारित गर्ने प्रक्रिया समाप्त हुने केही दिन लाग्छ । यसबीचमा पनि प्रमुख दलहरुले वार्ताको ढोका भने बन्द नभएको बताएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, तमलोपा, तमसपा, रामसपा, फोरम (गणत्रान्त्रिक) लगायत दलका सभासद बैठकमा अनुपस्थित थिए।