आइतबार बसेको संविधान सभा बैठकले नयाँ संविधानका ३ वटा धारा पारित गरेको छ। नयाँ संविधानको परिमार्जित विधेयकका धारा १, २ र ३ पारित भएको हो।
संविधान सभाको पहिलो धारामा संविधान देशको मुल कानुन हुने र यसको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने उल्लेख छ।
धारा २ मा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको’ उल्लेख छ। ‘यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुने’ पनि यही धारामा लेखिएको छ।
धारा ३मा राष्ट्रको परिभाषा गरिएको छ।
यो धारामा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’
यो धारामा रहेको ‘अखण्ता’ भन्ने शब्दको ठाउँमा ‘भौगोलिक अखण्डता’ राख्न मुख्य तीनदलका तर्फबाट दर्ता भएको संशोधन स्वीकृत भएको हुँदा संविधानमा त्यसैअनुसार उल्लेख हुने छ।
धारा ३मा पाँचवटा संशोधन दर्ता भएका थिए जसमध्ये ४ वटा संशोधन संविधान सभाले अस्वीकृत गर्यो भने प्रमुख तीन दलका तर्फबाट दर्ता गरिएको संशोधन स्वीकृत गर्यो।
पारित भएका धाराहरु नेपालको संविधानको अंग भएका छन्।