गाैर । गाैरमा कर्फ्यु अवज्ञा गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी २ जना घाइते भएका छन् । झडप अनियन्त्रित बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड बढी गोली प्रहार गरेको छ । ठूलो मात्रामा अश्रुग्यास पनि प्रहार गरिएको छ ।

कविर चोकमा भएको झडपमा प्रहरीले चलाएको गोली लागी गौर–६ का लालबाबु पटेल र अकोलवा–७ नहिरुद्धिन घाइते भएका छन् । पटेलको कोखा र नहिरुद्धिनको तल्लोढाडमा गोली लागेको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते नहिरुद्धिन माओवादीको भोजपुरा राज्य समिति सदस्य तथा वाइसिएल कार्यकता हुन् ।

गाउँगाउँबाट लाठी बोकेर ठुलो संख्यामा सदरमुकाम आएका प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै कविर चोक र बडहवा चोकबाट भित्र प्रवेश गर्न लाग्दा झडप भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम गठबन्धले संयुक्तरुपमा विरोध सभा आयोजना गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले गौरका विभिन्न क्षेत्रहरुमा २ बजेदेखि अनिश्चतकालसम्मका लागि कर्फ्यु लगाएको छ ।

आन्दोलनकारीले कर्फ्युको अवज्ञा गर्दै प्रहरीमाथि गोली प्रहार गरेपछि रौतहटको सदरमुकाम गौर तनावग्रस्त बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरेको छ । गौरका चारै नाकाबाट आन्दोलनकारीहरुले कर्फ्यु तोडेर प्रवेश गर्ने प्रयास गरेपछि झडप भएको छ ।