काठमाडौं । नयाँ स‌ंविधान जारी गर्नका लागि आइतबार बेलुकादेखि मतदान सुरु हुने भएको छ।अपरान्ह बसेको संविधानसभाको बैठकलाई शीर्ष नेताहरुले सम्बोधन गरिसकेपछि अपरान्ह ५ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकियामा जान लागिएको हो। सुरुमा संविधानका धारामाथि मतदान भइसकेपछि संविधान विधेयक नै संविधानको रुपमा पारित हुनेछ।

संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताए। स‌ंविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन्। सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएको छ।

संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो। राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन्। प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ।
संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्। तर स‌ंविधानका धाराहरु पारित गर्नका लागि तत्काल कायम (५९८) को दुईतिहाई (करिब चार सय)उपस्थित बैठकको दुईतिहाईले बहुमत भए पुग्ने प्रावधान छ। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ।
प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि पर्याप्त छ। यसमा राप्रपा नेपालका २५ सभासद् मिसिएपछि संविधान जारी गर्ने प्रकियाका पक्षमा अत्यधिक बहुमत भएको छ।